निर्लज्ज सरकार

155

– तीर्थराज जोशी
हुन त निर्लज्जताको पराकाष्टा देखाउने यो निरीह, कायर र सत्तामोही सरकारलाई हामीले जे जति भने पनि, जति दोषारोपण गरे पनि ऊ सुन्दैन किनकि उसको मोह केवल पद र प्रतिष्ठासँग छ, ताली र तमासामा छ । कुर्सी जोगाउनमा छ, आफ्ना कति र उसका कति भन्दै सत्ताको अङ्कगणितमा हिसाब किताब गर्नमै समय व्ययस्त छ याे सरकार । महामारी जनताका  पीडा, समस्या र अफ्ठ्याराहरुको बारेमा बेखबरजस्तै देखिन्छन् सत्तामोहीहरु । केपी ओलीमा  सत्ता जोगिँदैन कि भन्ने जुन डर देखिएको छ त्याे काेराेना भाइरसभन्दा भयानक देखिएकाे छ  । पुल पुलेसा, बाटाघाटा उद्घाटन गर्दै नानाथरी प्रलोभन र लालच देखाएर बेरोजगार कार्यकर्ताहरुको भेलामा हाँसोमजाक गर्दै समय व्यतित गर्ने पाखण्डहरुको अदुरदर्शिता, अकर्मण्यता र अहङ्कारको चपेटाबाट मुक्त नहुँदासम्म र सत्तासीनहरुका जतिसुकै कमजोरी भए पनि तिनका पाउमा लम्पसार परेर उनीहरुसँगको तस्वीरमा लट्ठ पर्दै आफ्नो राजनीतिक उचाइ बढेको महसुस गर्ने लम्पट कार्यकर्ताहरुको मनोदशामा कुनै परिवर्तन नआएसम्म संविधान जति बाक्लो र मोटो भए पनि, ऐनका ठेलीहरु जति छापिए पनि र लोकतन्त्रको रटान जति नै भए पनि सच्चा लोकतन्त्र आएको मानिने छैन ।

अहिले हामीकहाँ लोकतन्त्रको महसुस जनताले होइन नेताले मात्र गर्न सकेका छन् । उनैले जानेका छन् मस्ती, विलास, अमनचयन र ऐयासी जीवनशैली भोग्न । जनताको जिउ धनको सुरक्षामा संरक्षक र अभिभावक बन्नु पर्ने सरकारले सार्वजनिक गरेको अभिव्यक्तिले कति संक्रमितहरुको मनोवल कमजोर भयो होला भन्ने विषयमा जनताले प्रश्नचिह्न खडा गरेका छन् । तैपनि सरकार माैन देखिन्छ  ?  नागरिकहरुमा उसै त कोभिडको त्रास छ त्यसमा अझ स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति सार्वजनिक हुन्छ कि अब बिरामीका लागि बेड उपलब्ध गराउन सकिने छैन । यस्तो जटिल परिस्थितिमा कसरी बढीभन्दा बढी क्षमता बिस्तार गर्न सकिन्छ, कसरी जनतालाई भरोसा र विश्वास दिलाउन सकिन्छ भन्नेतिरभन्दा पनि राजनीतिक वृत्तमै केन्द्रित रहने सरकारले संवेदनशीलता अपनाएको देखिँदैन । सांसदहरु किनबेच गर्ने, अपहरण गर्ने, पदबहाली र पदमुक्तको खेलमा व्यस्त रहँदै गरेको सरकार जनताको मनोबल गिराउने काममा छ । ऊ अरु सबैथोक सक्छ, डन, गुण्डा र माफियाहरुलाई सरकारमा सामेल गराउन सक्छ, बलात्कारीहरुलाई लुकाउन सक्छ, भ्रष्टाचारीहरुलाई सम्मान, प्रशंसा र पदवी दिलाउन सक्छ, सांसद किनबेच गरेर आफ्नो पक्षमा फैसला गर्न सक्छ, करोडौँ अरबौँको भ्रष्टाचारमा मुखै नखोली बस्न सक्छ, राष्टघाति सम्झौतामा अग्रसर हुन सक्छ, मानव अधिकारको हनन गर्न सक्छ, तर अस्पतालमा सेवा सुविधा बढाउन, नागरिकको उपचारमा ध्यान दिन र समस्यामा मलम लगाउन सक्दैन । जनताको स्वास्थ्यका लागि बखत बखत आवाज उठाउने गोविन्द केसीहरुको आवाज सुन्न सक्दैन । अग्रभागमा रहेर बिरामीको हेरचाह र उपचारमा खटिएका स्वास्थ्यकर्मी र विभिन्न क्षेत्रमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुको मनोबल बढाउन सक्दैन । कोभिडसँड लडिरहेका हजारौँ संक्रमितको मनोबल उच्च राख्ने गरी बोल्न सक्दैन । चिहानको भाषा बोल्ने यो सरकारले तमामौँ संक्रमितहरुको मानसिकतामा केवल भय र त्रास मात्र जन्माउन जानेको छ । हामीले हाम्रा आदर्श मानेर पठाएका हाम्रा नेता जाति, धर्म, भाषा, भूगोलको नाममा मान्छेहरुलाई लडाउन, भिडाउन सक्छन्, मिलेर रहेको एकताबद्ध समाजमा भाँडभैँलो गरेर समस्या सिर्जना गर्न सक्छन्, संघ, प्रदेश र केन्द्रको राजनीतिक दाउपेच बुझ्न सक्छन्, आफ्ना नातागोता, आसेपासे र भरौटेहरुको भरणपोषण गर्न सक्छन् । तर आपतकालीन स्थितिमा जुटेर त्यसको सामना गर्न हिम्मत राख्न सक्दैनन् । उपचारको अभाव हामी हुन दिने छैनौँ । सक्दो प्रयासमा हामी तल्लीन छौँ र यहाँहरुको पनि साथ, सहयोग चाहिन्छ भनेर बोल्नुको साटो अब अस्पतालमा ठाउँ छैन है भनेर निर्लज्ज पारामा अभिव्यक्ति दिन लाजै नलागेको हो ? अझ निरीह पारामा विज्ञप्ति नै प्रकाशित हुन्छ कि हामी कमजोर भइसक्यौँ । आफ्नो सुरक्षामा ध्यान दिनु । राज्य छ सरकार छ कोही नआत्तिनोस्, बरु सबै मिलेर विपत्तिको सामना गरौँ, यतिखेर सम्पूर्ण राजनीतिक मतभेद र वैमनस्यतालाई पन्छाएर हामी संयुक्त रुपमा महामारीको सामना गरौँ, भौतिक दुरी कायम राख्न परे पनि भावनात्मक दुरी नरहोस् भन्नुको सट्टा अब स्थिति भयाबह छ भन्दै अझ त्रास फैलाउने काम राज्यबाटै हुनु लज्जास्पद हुन्छ । यस्तो विषम परिस्थितिमा पनि कोही सरकार टिकाउने, कोही गिराउने र कोही बनाउने दौडमा लगनशील छन् । अस्पतालहरु सेवासुविधा सम्पन्न बनाउन, स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहित गर्न, बिरामीहरुलाई उपचारको अभावमा मर्न नदिन के कस्तो कार्यनीति, योजना तर्जुमा गर्ने भन्ने बारेमा ध्यान नदिने तर असहज परिस्थितिमा लाचार अभिव्यक्ति दिने सरकारले गम्भीर भएर सोच्नु जरुरी छ । अझ घिनलाग्दो कुरा त के छ भने भारतबाट आयात गर्ने भनिएको खोपमा कमिसनको खेल खेलिएका समाचारहरु बाहिरिएका छन् । योभन्दा निर्लज्जता अरु के हुन सक्छ र ? अनि यी भ्रष्टहरुको निकृष्टतामा के हामीले ताली बजाइरहनु पर्ने नै हाेर  ? जे गरे नि खुसी हुनु पर्ने ? नेताले राज्यकोषको ढुकुटीमा लूट मच्चाउने अनि जनताले उपचारै नपाएर मर्ने व्यवस्थालाई लोकतन्त्र भनेर स्वीकार गर्न सकिन्छ ? विधिको शासन यही हो ? हामी कानुनी राज्यमा छौँ र सुशासनको महसुस गर्दै छौ भनेर हामीले नारा लगाउनु पर्ने ? सत्ताधारीहरुको जयजयकार मनाउनु पर्ने ?
लकडाउन गरेर जनतालाई बाहिर निस्कन नदिनु मात्र समस्याको समाधान हो ? अरु कुरामा ध्यानै दिनु पर्दैन ? स्वास्थ्य क्षेत्रमा उचित व्यवस्थापन गरी नागरिकलाई भरोसा र विश्वास दिलाउनुको सट्टा आफैले आतंक सिर्जना गरीरहँदा सरकारप्रति जनताको आस्था कसरी कायम रहला ? भएको संयन्त्रलाई त कमसेकम सही तरिकाले व्यवस्थापन गर्न अग्रसर हुनुप¥यो । राज्य र सरकार केका लागि ? जनमत केका लागि ? लोकतन्त्र केका लागि ? जसले उपचारको अभावमा आफन्त गुमाउनु परेको छ उनीहरुले राज्यको उपस्थितिलाई कुन रुपमा बुझ्ने ?
ग्याँसका पाइपहरु हरेकका भान्सामा जोडछु भन्न सक्नेहरुबाट किन अस्पतालका बेडमा अक्सिजन जोड्न सक्ने अभिव्यक्ति आउँदैन यसपटक ? अर्कोतिर सत्ता ढाल्न आँधीबेहरी सिर्जना गरीदिन्छौँ भन्नेहरु, सडक सडकमा लम्पसार परेर हामी यहाँ छौँ भन्नेहरु अहिले कहाँ छन् ? हुनु पर्ने त यहाँ पो हो त । तिनीहरुको शक्ति सरकार बनाउन र गिराउनमा मात्रै हो ?अस्पतालहरुमा अक्सिजनको आपूर्ति र बेडको अभाव पूरा गर्नमा सरकारलाई झकझक्याउन सकिँदैन ? जहाँ नागरिकहरु समस्यामा छन्, जहाँ रोग, भोक र शोकले सताएको छ त्यहाँ देखाउनुप¥यो आफ्नो उपस्थिति । राजनीति के का लागि ? सत्तामा पुग्न ? कुर्सी अँठ्याउन ? सुकिला लुगा लगाउन ? चिल्ला कारमा हुइँकिन ?
अर्कोतिर कोरोनाबाट एकै दिन यति हजार र त्यति हजारको मृत्यु भनेर शीर्षक राख्ने र भित्री समाचारमा विश्वभरको तथ्यांक समावेश गर्ने खालका पत्रकारहरुको बिगबिगी छ, मानवीय सेवा, सहयोग र सद्भावनाका लागि प्रेरित गर्नुको साटो बढी डर, त्रास र आतंक फैलाउने काम पत्रकारिता पेसामा लागेका या नलागेकाहरु जोकोहीले बन्द गर्नु पर्छ । चर्चा कमाउनका लागि गलत बाटो नरोजियोस् । सही र सत्यतथ्य समाचार सम्प्रेषण गर्नु पर्ने पत्रकारिताको मर्मलाई नभाँचौँ । कोरोना आफैमा मृत्यु हो र यसले छुनेबित्तिकै मरिहालिन्छ भन्ने खालका समाचार बनाउनमा लागिपरेकाहरु समाजलाई थप आतंकित पार्दै छन् । यो अफ्ठ्यारो स्थिति नभएको होइन,किनभने धेरैले आफन्त गुमाउनु परेको दुखद स्थिति छ, कोही उपचारको अभावमा छटपटाइरहेका छन् । यो विषम परिवेशमा मानवीय सेवा र सहयोगको खाँचो छ । सजग रहौँ, सचेत रहौँ र सक्दो सहयोगका लागि तत्पर रहेर उच्च मानवीय भावना प्रकट गरौँ । भौतिक दुरी कायम गरौँ तर भावनात्मक सम्बन्धमा टाढा हुन नखोजौँ । सरकारको लाचारीमा निराश बनेर मनोबल कमजोर पारेर त्रासमा नबाँचौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here