काठमाडौं । काठमाडौं उपत्यकाका थप १५ दिन निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
निर्णयसँगै उपत्यकामा जेठ १३ गतसम्म निषेधाज्ञा लम्बिएको छ । निषेधाज्ञाको समय १५ दिन थप्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनाए ।
बैठकमा काठमाडौंका प्रजिअ पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी थिए ।
निषेधाज्ञामा औषधि पसल दिनभर तथा अत्यावश्यक खाद्यवस्तु र तरकारीका पसल विहान ९ बजेसम्म खोल्न पाइन्छ । अत्यावश्यक सेवाबाहेकका गाडी पनि चलाउन रोक लगाइएको छ ।
योसँगै उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय भएको छ । यसअघि वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो ।


















