फेसबुकमा विज्ञापन गर्न फिट इन्टरनेसनल नेपालको पहिलो रिसेलर

187

काठमाडौं । फेसबुकमा विज्ञापन गर्न फिट इन्टरनेसनल नेपालको पहिलो रिसेलर बनेको छ । नेपालबाट विज्ञापन गर्न फेसबुकसँग साझेदारी गरिएको कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फेसबुकको आधिकारिक रिसेलर भएका कारण कम्पनीले फेसबुकमा विज्ञापन गर्दा आधिकारिक बिल जारी गर्न सक्ने र सरकारले पाउने राजस्व पनि चुहावट नहुने विज्ञप्तिमा जनाइएको छ ।फेसबुकमा विज्ञापन गर्न फेसबुकले रिसेलरको मान्यता दिएको फिट इन्टरनेसनल पहिलो नेपाली कम्पनी हो । ‘फिट र फेसबुकको साझेदारीले फेसबुकमा हुने विज्ञापनको अब बिलिङमार्फत तथ्यांक थाहा पाउन सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अब फेसबुक विज्ञापनका लागि गरिएको प्रत्येक कारोबारको तथ्यांक र हिसाबकिताब राख्न सक्नेछ ।’

यसअघि नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमा विज्ञापन गर्न आधिकारिक माध्यम थिएनन् । औपचारिक माध्यमको अभावमा सामाजिक सञ्जालमा गरिने विज्ञापन नेपालमा अवैध मानिँदै आएको थियो । सामाजिक सञ्जालमा विज्ञापन गर्दा अवैध माध्यमबाट भुक्तानी दिइने भएकाले नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानीका लागि छुट्टै मापदण्ड बनाएको छ । यसमा साना भुक्तानी बैंकमार्फत गर्न सकिने र ठूलो भुक्तानीका लागि राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने व्यवस्था छ ।

फेसबुकको विज्ञापनका लागि रिसेलर नियुक्त भएको कम्पनीलाई भुक्तानीका लागि राष्ट्र बैंकले स्वीकृति दिने राष्ट्र बैंकका विदेशी विनिमय भुक्तानी विभाग निर्देशक गुरुप्रसाद पौडेलले बताए । ‘कुनै कम्पनीले डलरमा भुक्तानी गर्ने गरी सेवा लिएको छ भने राष्ट्र बैंकलाई आधिकारिक कागजपत्र देखाएपछि भुक्तानीको स्वीकृति दिन्छौं,’ उनले भने, ‘अहिले ३ हजारभन्दा माथि खर्च गर्ने गरी सामाजिक सञ्जालमा विज्ञापन गर्दा राष्ट्र बैंकले डलर भुक्तानीको स्वीकृति दिइरहेको छ ।’ यस्ता कम्पनीहरूको नियुक्तिले सामाजिक सञ्जालमा हुने विज्ञापनको भुक्तानी सहज हुने उनको बुझाइ छ ।

राष्ट्र बैंकले व्यक्तिगत प्रयोजनका लागि वार्षिक ५ सय डलरसम्म डलर भुक्तानी गर्न डलर कार्ड जारी गर्न बैंकहरूलाई गत महिना अनुमति दिएको थियो । राष्ट्र बैंकले व्यक्तिगत प्रयोजनका लागि डलर कार्डमार्फत भुक्तानीको सुविधा दिए पनि ठूला व्यवसायलाई फेसबुकमा विज्ञापन गर्न प्रक्रिया झन्झटिलो हुँदै आएको छ ।

फेसबुकमा विज्ञापन गर्ने व्यक्ति वा संस्थाले अब आधिकारिक बिल पाउने फिट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत रवि सिंघलले जानकारी दिए । सरकारले पाउने राजस्वमा पनि योगदान पुग्ने उनको भनाइ छ । ‘पहिला अवैध तरिकाले भुक्तानी गर्नुपर्ने बाध्यता थियो भने वैध बाटोबाट भुक्तानी गर्दा पनि प्रक्रिया झन्झटिलो थियो,’ उनले भने, ‘अब भने फेसबुकमा आधिकारिक रुपमा विज्ञापनको भुक्तानी गर्न सकिन्छ ।’ कम्पनीले गुगलका प्रडक्ट र सेवामा विज्ञापनका लागि पनि मान्यता पाउने काम अन्तिम चरणमा रहेको उनले बताए ।

नेपालमार्फत फेसबुकमा वार्षिक २ अर्बको विज्ञापन हुने गरेको सिंघलको भनाइ छ । कम्पनीले रिसेलरको मान्यता पाएपछि फेसबुकमा गरेको भुक्तानीका लागि आधिकारिक माध्यम मात्रै नभई विज्ञापन नियमनका लागि समेत सहयोग पुग्ने उनले जानकारी दिए ।

‘फेसबुकको विज्ञापन नीतिमा परिपक्व भएपछि मात्रै फेसबुकले हामीसँग सहकार्य गरेको हो,’ उनले भने, ‘अब फेसबुकको नीतिविपरीत हुने विज्ञापन नियमनको जिम्मेवारी पनि हाम्रो हुन्छ, यसले गर्दा विज्ञापन नियमनमा पनि सहज हुन्छ ।’-कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here