काठमाडौं/कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट थप ३२ हजार डोज नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले मंगलबार बेलुका थप ३२ हजार डोज औषधि हिजो नेपाल आइपुगेको जानकारी दिए।
पछिल्लो समय नेपालमा कोभिडका बिरामीको सङ्ख्या बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सो माग अनुसार विभागले बंगलादेशबाट एक लाख २५ हजार औषधि ल्याउन अनुमति दिएको सूचना अधिकारी केसीले जनाए ।एक लाख २५ हजारमध्ये अहिलेसम्म पटक–पटक गरी २२ हजार, सात हजार र ३२ हजार डोज औषधि नेपाल आइपुगेर र बाँकी आउने क्रममा रहेको उनले जनाए।
नेपालमा आइपुगेको ‘रेम्डेसिभिर’ औषधि कोरोना सङ्क्रमितहरुको उपचार हुने अस्पतालमा पठाइएको छ ।‘हामीले औषधि राख्दैनौ । यो औषधि कोभिड सङ्क्रमित बिरामीको उपचारका लागि अस्पतालमा पठाउछौं,’ उनले जनाए । तर, पछिल्लो समय रेम्डेसिभिर औषधि कोरोना सङ्क्रमितका लागि अचुक औषधि नभएको भन्दै विभागले विज्ञप्ति नै जारी गरेको थियो त्यसपछि पनि विभागले पटक–पटक गरी उक्त औषधि नेपाल ल्याइरहेको छ कि न ? भन्ने प्रश्नमा उहाँले रेम्डेसिभिर औषधि प्रयोग भइरहेको छ, तर अचुक नभएको जनाए ।
‘कुनै–कुनै केसमा यसले काम गरेको भन्ने छ । तर, अहिलेसम्म कोरोना सङ्क्रमितको लागि कुनै अरु औषधि छैन । सबैले यहि औषधि प्रयोग गरेको हिसाब छ,’ उहाँले भन्नुभयो, ‘केही स्टेपमा यसले काम गर्छ, त्यो भन्दा अरुमा गर्दैन भन्ने छ ।’ विभागले वैशाख २२ गते विज्ञप्ति जारी गर्दै यो सबै प्रकारका कोभिडका बिरामीका लागि आवश्यक नपर्ने र अचुक औषधि पनि नभएकाले यसको प्रयोगमा डाक्टरहरुले ख्याल पुर्याउन निर्देशन दिएको थियो ।
बङ्गलदेशको बेक्सिम्को फार्मेसिष्ट लिमिटेडले उत्पादन गरेको रिम्डेसिभिर औषधि नेपालमा समेत कोरोना भाइरसबाट बच्न परिक्षणका लागि प्रयोग गर्ने गरी विभागले पहिलो पटक आयत गरेको जनाएको छ । कोरोना सङ्क्रमित बिरामीको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि क्लिनिकल ट्रयालका रूपमा कोभिडको उपचारमा विश्वभर प्रयोग गर्न थालिएको छ ।



















