फ्रान्सेली टोलीमा ६ वर्षपश्चात पूनरागमन भए बेन्जेमा

77

एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्सले अर्काे महिनाबाट शुरु हुने युरोकपको लागि २६ सदस्यीय टोलीको घोषणा गर्दा बेन्जेमालाई ६ वर्षपछि टोलीमा समावेश गरेको हो । सन् २०१५ मा आफ्नै सहकर्मी माथिए बल्बुएनको यौन भिडियो बनाएर ‘ब्लयाकमेल’ गरेको आरोप लागेपछि उनलाई टोलीबाट निष्काशन गरिएको थियो । त्यसपछि उनी २०१५ अक्टोवरयता फ्रान्सको टोली बाहिर रहेका थिए । उनले आफुमाथि लागेको आरोप झुटो रहेको बताउँदै आएका थिए । यो अवधिमा बेन्जेमाले घरमै आयोजना भएको युरोकप २०१६ र फ्रान्स २०१८ मा विश्वकप च्याम्पियन बन्दाको खेल गुमाएका थिए ।

फ्रान्सको राष्ट्रिय टोलीमा पूनरागमन गरेसँगै बेन्जेमाले फ्रान्समा फर्किन पाएकोमा गर्व महसुस भएको जनाएका छन् । ‘फ्रान्समा फर्किन पाएकोमा ठुलो गर्व छ र उनीहरुले ममाथि राखेको विश्वास’ बेन्जेमाले सामाजिक सन्जालमा पोस्ट गरे, ‘मेरो परिवार, मेरो क्लब, मेरो साथीहरु र तपाईहरु जसले मलाई समर्थन गर्नुभयो र मलाई हौसला दिइरहनु भयो सबैलाई धन्यवाद ।’

बेन्जेमाले प्रशिक्षक डेसच्याम्पसँग उनीहरुको मतभेद सुल्झाउन भेट गरेका थिए । त्यसपछि प्रशिक्षक डेसच्याम्पले उनलाई टोलीमा फर्काउने निर्णय गरेका थिए । यौन काण्डपछि ८ अक्टोवर २०१५ मा अर्मेनियाविरुद्धको ४–० को जित निकालेको खेल बेन्जेमाको लागि फ्रान्सका लागि अन्तिम खेल बनेको थियो । उनले उक्त खेलमा २ गोल गरेका थिए ।

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले २०१८ मा क्लब छाडेपछि ३३ वर्षीय बेन्जेमा रियलका लागि मुख्य खेलाडी रहँदै आएका छन् । फ्रान्स बाहिर खेल्ने उत्कृष्ट फ्रान्सेली फरवार्ड बनेका बेन्जेमाले यो सिजन रियलका लागि ४४ खेलमा २९ गोल गरिसकेका छन् । सोही कारण पनि प्रशिक्षक डेसच्याम्पले उनलाई टोलीमा समेट्न पर्ने दवाव बढेको थियो ।

विगत ६ वर्षको विभिन्न उतारचढावका बावजुत फ्रान्सेली फुटबल महासंघका अध्यक्ष नोएल ले ग्रेटेले पनि उनलाई टोलीमा समेट्ने प्रयास गरेको थियो । टोली गोलको लागि संघर्ष गरिरहेको अवस्थामा बेन्जेमाको उत्कृष्ट लयका कारण पनि उनलाई वेवास्ता गर्न सकेका थिएनन् । २००७ देखि राष्ट्रिय टोलीमा रहेका बेन्जेमाले ८१ खेलमा २७ गोल गरेका छन् ।

फ्रान्स रहेको समूह ‘एफ’ मा जर्मनी, हंगेरी र पोर्चुगल रहेका छन् । १५ जुनमा फ्रान्सले जर्मनीसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ । त्यसपछि १९ जुनमा हंगेरी तथा २३ जुनमा पोर्चुगलसँग खेल्नेछ । त्यसअघि फ्रान्सले २ जुनमा वेल्स र ८ जुनमा बुल्गेरियासँग मैत्रीपुर्ण खेल खेल्दैछ ।

फ्रान्सको टोली
गोलरक्षक –
 ह्युगो लोरिस (टोटेनहम), स्टिभ मान्डान्डा (मार्से) र मिग मेइगनान (लिल)
डिफेन्डर – लियो डुवोइस (लियोन), बेन्जामिन पाभार्ड (बायर्न), कुर्ट जोउमा (चेल्सी), राफयल भरान (रियल म्याड्रिड), क्लेमेन्ट लेङ्लेट (बार्सिलोना), प्रेसनेल किमपम्वे (पीएसजी), लुकास डिग्ने (एभटएन), लुकास हर्नान्डेज (बायर्न) र जुलेस कुन्डे (सेभिया)
मिडफिल्डर – कोरिन्टन टोलिसो (बायर्न), एङ्गोलो कान्टे (चेल्सी), पल पोग्वा (म्यानचेस्टर युनाइटेड), एड्रियन राबिओट (युभेन्टस), मौसा सिसाको (टोटेनहम)
फरवार्ड – करिम बेन्जेमा (रियल म्याड्रिड), ओलिभर जिरुउड (चेल्सी), केलियन एमबाप्पे (पीएसजी), विसाम विन यडर (मोनाको), किङ्सले कोमान (बायर्न), औसमाने डेम्वेले (बार्सिलोना), एन्टोइन ग्रिजमन (बार्सिलोना), थोमस लेमार (एट्लेटिको म्याड्रिड) र मार्कुस थुराम (बोरुसिया मोन्चेनग्लाडवाक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here