काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्धारा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध आक्रोश पोख्दै प्रधानमन्त्री र राष्ट्रपतिलाई गोबर उपहार पठाएको छ ।
आइतबार बिहान बानेश्वरमा आयोजित कार्यक्रममा विद्यार्थी नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिको फोटोमा गोवर दलेर विरोध गरेका थिए । सोहि क्रममा नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेविसंघका महामन्त्री दीपक भट्टराईले उनको विनाशर्त रिहाइको माग गरेका छन् । ‘मष्तिस्कमा गोबर भरिएका महामहिम जोडिलाई आज बानेश्वरमा गोबर उपहार दिने क्रममा पक्राउ परेका नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठी लाई यथाशीघ्र विनाशर्त रिहाइको जोडदार माग गर्दछु ।’ उनले भनेका छन् ।

कोभिड १९ को महामारीको बीचमा राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका आफूहरु सडक संघर्षमा आउन बाध्य भएको महामन्त्री भट्टराईले जनाए ।
भट्टराईले संघर्षको बाटोबाट संविधानको संरक्षण र ओलीलाई सत्ताच्युत गर्न अब ढिलो गर्नु नहुने भन्दै उनले सम्पूर्ण लोकतन्त्रवादी एकजुट हुन आव्हान समेत गरेका छन् ।

नेविसंघले राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा गरेको संसद विघटनकाविरुद्ध शनिबार दिउँसो शितल निवास अगाडि प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा सो दिन पनि विद्यार्थी नेताहरु नरेश विष्ट र श्याम ओझालाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छोडेका हुन् ।


















