काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि एटलेटिको म्याड्रिडले जितेको छ। गएराति सम्पन्न लिगको अन्तिम खेलमा भल्लाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एटलेटिकोले यस सिजनको ला लिगाको उपाधि जितेको हो।
एटलेटिकोको जितमा एंगल कोरिया र लुसी स्वरेजले एक एक गोल गरेका हुन्। स्वरेजले १-१ गोलको अवस्थामा निर्णायक गोल गर्दै एटलेटिकोको जित सुनिस्चित गरेका थिए। त्यस्तै भल्लाडोलिडका लागि ओस्कार प्लानोले एक गोल गरेका थिए।
एटलेटिकोको ३८ खेलमा ८६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३८ खेलमा ८४ अंक रहेको छ । रियलले आफ्नो अन्तिम खेलमा भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गरेको छ।
योसँगै एटलेटिकोले ११औ पटक ला लिगाको उपाधि जितेको छ। एटलेटिकोले २०१३(१४ सिजनपछि पहिलो पटक ला लिगाको उपाधि जितेको हो। ला लिगाको इतिहासमा सबैभन्दा बढी पटक ला लिगाको उपाधि जित्ने क्लब भने रियल म्याड्रिड हो। रियल म्याड्रिडले ३४ पटक यो उपाधि जितेको छ भने बार्सिलोनाले २६ पटक जितेको छ।


















