तनहुँ । ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नारासाथ व्यासनगरपालिका–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले थालेको अभियानमा झण्डै रु.२६ लाख सङ्कलन भएको छ ।
गत वर्ष भदौ १९ गते नेपाल रेडक्रस दिवसको दिनबाट अभियान शुरु थालेको सो उपशाखाले नौ महिनामा २५ लाख ५६ हजार जुटाएको हो । विभिन्न व्यक्ति संघसंस्थाबाट १५ लाख नगद सङ्कलन भएको छ । त्यस्तै १० लाख ५६ हजार बोलकबुल अनुरुपको रकम उठ्न बाँकी रहेको उपशाखाका सभापति रामदत्त पौडेल बताए । व्यासनगरपालिकाले पाँच लाख, नेपाल रेडक्रस सोसाइटी केन्द्रले तीन लाख र विभिन्न व्यक्तिबाट रु. दुई लाख ५६ हजार उठ्न बाँकी रहेको छ ।
उक्त शाखाले एम्बुलेन्स खरिदको लागि गत पुस १६ गते नौ लाख ४१ हजार ७५३ भारतको अग्नि गु्रप महेन्द्र कम्पनीलाई पैसा पठाएपनि हालसम्म एम्बुलेन्स ल्याउन नसकिएको उनले बताए ।


















