आवरणमा समाजबाद ब्यवहारमा नेपाली संस्करणको लेण्डुपबाद लज्जाजनक हो

103

-प्रीति रमण

जनता समाजबादी पार्टीको निर्माण भएपछि नेपाली जनतामा एउटा आशा पलाएको थियो । मधेश केन्द्रीत नेताहरुले समग्र नेपालको नेतृत्व गरेर नेपाली जनताका चाहना पुरा गर्ने छन् भन्ने जनतामा परेको थियो । तर पार्टी संगठित भएको एकबर्ष नबित्दै सत्तालोलुपताले यो जनआश्थाको केन्द्र बनेको पार्टी  बिभाजनको संघारमा पुगेको छ । अब यस्सलाई जोड्न सामान्य सुपरग्लुले काम गर्ने अवस्था छैन । आवरणमा समाजबाद मन भित्र लेण्डुबादको आचरण नेताहरुले देखाए पछि जनतामा आशा हैन अब त त्रास पैदा भएको छ ।

समाजबादमा समाजको हित सोचिनु पर्छ । ब्यक्तिहरुका चाहना किनारा लाग्न सक्दछन् समाजबादमा ।  समाजबादको मुख्य लक्ष्य समाजको सुधार गर्नु हो । समाजवादको जन्म पुँजीवादको अन्तरविरोधको कारणबाट भएको हो । समाजमा धनी वर्ग र गरिब वर्ग हुँदा गरिब वर्गले आफ्ना आवश्यकताहरु पूरा गर्न नसक्दा उनीहरुमा राज्यप्रति वितृष्णा उत्पन्न हुने गर्दछ । तसर्थ, राष्ट्रको आर्थिक पद्धतिप्रति नै असन्तुष्टि हुने गर्दछ त्यो बर्गमा ।

सबैलाई जानकारी भएको कुरा हो कि मानिसहरु प्राकृतिक रुपले समान छन् । उनीहरुका बीच आज विद्यमान राजनीतिक, आर्थिक र सामाजिक भेदभाव सबै कृत्रिम हो । यही चिन्तनबाट समाजवादको अवधारणा विकास भएको हो । यो चिन्तन सर्वव्यापी  छ ।

आकाश, पृथ्वी, आगो र पानीमा सबैको समान अधिकार हुन्छ भन्ने उपनिषद्को भनाइ र शान्तिका अग्रदूत गौतम बुद्धले जातीय विभेदका विरूद्धमा दिनुभएको मुक्ति र समानताका सन्देशले पनि समाजवादी चिन्तनलाई बल पु¥याएको हो ।

मानिस जन्मदा स्वतंत्र थियो । प्रकृतिमा मानिसको अधिकार मानिसबाटै नियन्त्रण सुरु भएको हो । मानिस जन्मेदेखि नै समानता, स्वतन्त्रता र पारस्परिक सहयोगको वातावरणबाट अघि बढेको हो भन्ने मान्यता हाम्रो परम्पराबाट पनि पुष्टि  हुन्छ । संसारका सबै जाति तथा समुदायहरुमा पाइने परम्परा समाजवादी दृष्टिकोण, मानव समुदायको नैसर्गिक आवश्यकताको उपज हो । तर, सभ्यताको विकासँगसँगै मानिसहरुका बीच शोषण प्रवृत्तिको विकास भयो । एकथरी मानिसले जातजाति, व्यवसाय, राज्य व्यवस्था आदि विभिन्न कुराहरुका आधारमा सुविधा र स्रोतमाथि आफ्नो प्रभुत्व कायम गर्ने र अरुलाई यसबाट टाढा राख्ने गर्न थाले । फलतः अन्याय, असमानता र शोषणको वृद्धि हुन थाल्यो ।

समाजवादी दृष्टिकोण १९औँ शताब्दीको पूर्वाद्धपछि मात्र व्यवस्थित भएको हो । लेनिनले  कम्युनिस्ट पार्टीको एकदलीय सर्वसत्तावादलाई वैज्ञानिक समाजवादको नाम पनि दिए । तर, प्रजातन्त्रको अभावमा समाजवादको सार्थकता साबित भएन । समाजवादी मान्यतालाई सीमित र राजनीतिक स्वार्थवश गलत प्रकृतिलाई मुक्त राख्दै स्वतन्त्रता, समानता र मुक्तिजस्ता मान्यताहरुलाई जोगाउँदै २०औँ शताब्दीको पूर्वाद्धमा समाजवादीहरुले समाजवादको चिन्तन प्रारम्भ भएको हो ।

त्यसैले प्रजातंत्रमा  समाजवाद जोडिएर आयो ।  सामान्य अर्थमा समाजबाद राजनीतिक स्वतन्त्रतासहितको जनउत्तरदायी शासन प्रणाली र न्यायोचित वितरण प्रणालीको प्रयोग हो । यसमा आर्थिक, सामाजिक शोषणबाट मुक्ति दिलाउने राजनीतिक मान्यता हो । प्रजातान्त्रिक समाजवादले विकसित र सुसंगठित सैद्धान्तिक विचारधाराको प्रतिनिधित्व गर्छ र गर्नु पर्छ भन्ने कुरा बुझ्नु जरुरी छ ।

जनताको आत्मनिर्णय र क्षमताको सम्मान र संरक्षण गर्ने यो सिद्धान्तले नै मानिसको उन्नति गर्न सक्छ भन्ने विश्वास राख्दछ । मानिसका आर्थिक, सामाजिक र सांस्कृतिक स्वतन्त्रता एवम् अधिकारहरुका लागि राज्य व्यवस्थाको सञ्चालनलाई यसले पूर्वसर्तको रुपमा स्वीकार गरेको छ । त्यसैले, जर्मन समाजवादी नेता विली ब्रान्टले “समाजबादले  नै प्रजातन्त्रको पूर्णता प्राप्त गर्दछ” भनेका छन् ।

स्वतन्त्रता, न्याय र साहचर्य समाजवादका आधारभूत मान्यता हुन् । स्वतन्त्रता भनेका केवल कानुनी रुपमा नागरिकलाई प्राप्त हुने अधिकार अपहरणका विरूद्धको सुरक्षा र उपचार मात्र होइन, व्यक्तिले स्वतन्त्र रूपमा भौतिक जीवन यापन गर्न सक्ने सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाको निर्माण नै स्वतन्त्रताको वास्तविक प्रयोजन हो ।

न्याय भनेको समानताको उपभोग हो । समानताको अभावमा मुक्ति अर्थात् स्वतन्त्रताको अर्थ रहँदैन ।

नेपालमा समाजवादको चर्चा गर्दा मुलुकको सामाजिक, सांस्कृतिक संरचना, भूराजनीतिक, ऐतिहासिक पृष्ठभूमि र राजनीतिक अवस्थाजस्ता विषयलाई ध्यान दिनु जरुरी हुन्छ । उत्तर र दक्षिणमा भिन्न राजनीतिक पद्धति अपनाएका चीन र भारतजस्ता बिशाल राष्ट्रहरु छन् । भौगोलिक विषमताकै कारणले हावापानी र रहनसहनमा पनि विविधता रहेको छ । सामाजिक र सांस्कृतिक बनावटका दृष्टिकोणले नेपालको समाज बहुभाषिक र बहुजातीय रहेको छ । राजनीतिको दृष्टिले यो मुलुकमा प्रजातान्त्रिक प्रयोग भर्खरै मात्र प्रारम्भ भएको छ । आर्थिक स्थिति अर्धसामन्ती र अविकसित अवस्थामा छ । औद्योगीकरणको अवस्था शून्य बराबर छ । अधिकांश नेपालीहरुको जीवन गरिबी र बिदेश पलायनको मारमा पिल्सिएको छ । नेपाली जनसंख्याको पन्ध्र प्रतिशतभन्दा बढी मानिसहरु दलित  समुदायका छन् । हिन्दुधर्ममा आधारित जातीय प्रथाले समाजमा सानो र ठूलो जातको भेदभाव तथा छुवाछूतजस्ता बिकृतिहरु यहाँ ब्याप्त छन् ।

 यसैको आडमा धार्मिक द्वन्द गराउनेहरु यहाँ सकृय देखिन्छन् । यस्ता बिकृतिहरुमा सुधार गर्दै नेपाली समाजमा रहेको आर्थिक बिषमतालाई हटाउँने अभियानको अगुवाई गर्ने अवशर पाएको जनता समाजबादी पार्टीका नेताहरुले छिमेकी देशका सिमाक्षेत्रका वारी र पारीका जनताको दुरावस्थालाई बुझेर स्वतंत्र भएर नेपाली जनताको हितमा काम गर्नु पर्नेमा सिमापारीका शासकहरुका स्वार्थमा परिचालन भएर काम गर्नु भनेको लेण्डुपबादको नेपाली संस्करण हो । यस्तो प्रबृत्तिले नेपालको हित गर्ने छैन , बेलेमा सचेत बनौ !-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here