काठमाडौं । बन्दूकधारी एक समूहले यूगाण्डाका एकजना मन्त्रीको हत्याको प्रयास गरेको छ । यूगाण्डा सेनाका पूर्ब कमाण्डर तथा प्रहरी प्रमुख समेत रहनुभएका यातायात मन्त्री जनरल कटुम्बा वमालाको हत्याको प्रयास गरिएको हो । वमाला यूगाण्डाका सबैभन्दा प्रतिष्ठित र सर्वसाधारण एवम् सेनाले आदर गर्ने नेताका रुपमा चिनिनुहुन्छ ।
बीबीसीका अनुसार स्थानीय प्रत्यक्षदर्शीले कम्पालास्थित घर नजिकै मन्त्री वमाला सबार गाडीमाथि बन्दूकधारी समूहले अन्धाधुन्ध गोली प्रहार गरेको उल्लेख गरेका छन् । गोली प्रहारबाट घाइते भइ रगतले लतपत उहाँलाई मोटरसाइकलको पछाडि राखेर अस्पताल पुर्याइएको छ । उहाँको राजधानी कम्पालाको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उच्च सुरक्षा घेराभित्र उहाँको उपचार भइरहेको जनाइएको छ । सेनाले भने हत्याको प्रयासमा संलग्न ब्यक्तिको खोजबीन भइरहेको जनाएको छ ।
प्रत्यक्षदर्शीले सेनाको कारको सामुने र छेऊबाट बन्दूकधारी समूहले आक्रमण गरेको जनाएका छन् । उहाँको छोरी ब्रेण्डा वमाला र चालक हरुनाको घटनास्थलमा नै मृत्यु भएको छ ।


















