काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेईमाथि सहज जित निकाल्न सफल भएकाे छ ।
बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलको जित निकालेको हो । कुवेतको राजधानी कुवेत सिटीमा नेपाल जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक–एक गोल गरेका थिए ।
नेपालले खेलको चौथो मिनेटमा अग्रता बनाएको थियो । खेलको चौथो मिनेटमा गोल गर्दै अन्जनले नेपाललाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गरेको हो ।
नेपालका लागि दोस्रो गोल बैकल्पीक खेलाडीको रुपमा मैदान छिरेका नवयुग श्रेष्ठले गरे । उनले खेलको ८१ औं मिनेटमा समन अर्यालले दिएको पासमा गोल गर्दै टिमलाई २–० गोलको जित निकाले ।
याे जितसँगै नेपालले विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपालले ६ खेलबाट ६ अंक जोडेको छ । योसँगै नेपालको विश्वकप छनोटमा आफ्नो गणितिय सम्भावना भने कायम राखेको छ । यता जित निकाल्दै नेपालले एसिया कपका लागि आफूलाई बलियो बनाउने मौका पाएको छ ।


















