चीनले पाकिस्तानलाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप प्रदान

75

काठमाडौं । चीन सरकारले पाकिस्तानलाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप प्रदान गरेको छ।

कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनको मुख्य जिम्मेबारी दिइएको राष्ट्रिय नियन्त्रण तथा परिचालन केन्द्रकअनुसार सिनोभ्याक खोप पाकिस्तानले पाएको हो।

खोप लिन मंगलबार  पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए) पिके ६८५२ विमान चीन गएको थियो। चीनको राजधानी बेइजिङमा रहेको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सो विमानले सिनोभ्याक खोप पाकिस्तानको राजधानी इस्लामावाद ल्याई पुर्‍याइएको हो।

अहिले चीनबाट ल्याइएको खोप देशभरी रहेका खोप केन्द्रहरुमा पठाइने र त्यहीबाट आम नागरिकलाई लगाइने अधिकारीहरुले जनाएका छन्। पाकिस्तानमा अहिलेसम्म कुल नौ लाख ५० हजार ७६८ जना कोरोनाबाट सङ्क्रमित भएका छन्। ती मध्ये ९३० जना बुधबार थपिएका हुन।

राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयका अनुसार बुधबार थप ३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै पाकिस्तानमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको सङ्ख्या २२ हजार ७३ पुगेको छ।

पाकिस्तानमा यसअघि पनि चीनबाट नै दश लाख मात्रा सिनोफार्मा खोप प्राप्त भएपछि देशव्यापी खोप अभियान संचालन गरिएको थियो। गत मार्चमा संचालन भएको सो खोप अभियानअन्तर्गत अग्रपंक्तिमा खटिएका व्यक्ति र जेष्ठ नागरिकहरुलाई खोप सेवा उपलब्ध गराइएको थियो।

राष्ट्रिय नियन्त्रण तथा परिचालन केन्द्रकअनुसार राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले अन्तर्राष्ट्रिय बजारबाट अरु खोप पनि ल्याउने प्रयास गरिरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here