काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले सिंगो कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न आग्रह गरेका छन्।
एमाले तत्कालीन महासचिव स्वर्गीय मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीको अवसरमा वक्तव्य जारी गर्दै नेता नेपालले राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गरिएको जनाएका हुन्।
पछिल्लो समय कम्युनिस्ट पार्टीको नाम र नेतृत्वमा लोकतन्त्रका आधारभूत मान्यता नष्ट गर्ने तथा संविधानमाथि प्रहार भइरहेको उनको धारणा छ। ‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तीतो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो,’ उनको वक्तव्यमा भनिएको छ।
अधिनायकवाद तथा निरंकुशता विरुद्ध लामो संघर्ष गरेका मदन भण्डारीको नेतृत्व नै नेपालकोे कम्युनिस्ट आन्दोलनको विकासको आधार भएको उनको धारणा छ।
‘कम्युनिष्ट पार्टीलाई एकीकृत बनाउने, लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने, स्वच्छ छवि कायम राख्ने, जनताको दुःख–सुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न उहाँको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो,’ उनले भनेका छन्।
नेपालले सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्नसमेत उनले पार्टीका नेता तथा कार्यकतालाई आग्रह गरेका छन्।
‘विद्यमान वैचारिक–राजनैतिक–सांस्कृतिक –आर्थिक विचलन, विकृति, विसंगति, सांगठनिक वेथिती र अन्यायको अन्त्य गर्दै नेकपा ९एमाले०, सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा आह्वानसहित पुनः जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु,’ नेपालले लेखेका छन्।


















