चिकित्सा शिक्षा तर्फको स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न अनुमति दियाे

107

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले चिकित्सा शिक्षा तर्फको स्नातक तहको एकिकृत प्रवेश परीक्षा आगामी साउन ९ गतेदेखि सञ्चालन गर्न अनुमति दिएको छ।

सिसिएमसीले परीक्षा सञ्चालनको विषयमा चिकित्सा शिक्षा आयोगलाई साउन ९ गतेदेखि परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो।

सिसिएमसीले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका उपायहरु पूर्ण रुपमा पालना गराइ उपत्यका भित्र र बाहिर परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो।

प्रवेश परीक्षा सञ्चालनको अनुमति पाएसँगै आयोगको परीक्षा समितिले परीक्षा सञ्चालनको विषयमा बैठक समेत बसेको छ।

स्नातक तहको एमबिबिएस, बिडिएस लगायतको एकिकृत प्रवेश परीक्षाको विषयमा गरिएको निर्णय भने  मंगलबार सार्वजनिक गर्ने तयारी गरहेको आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले जानकारी दिए।

‘सिसिएमसीबाट साउन ९ गतेदेखि परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ, भोलि हामी सूचना निकाल्छौ,’ लुइँटेलले भने, ‘परीक्षा सम्बन्धि सूचना निकाल्न परीक्षा समितिको बैठक समेत बसेको छ।’

सिसिएमसीका प्रवक्ता कृष्णहरि पुष्करले स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड पालना गर्ने शर्तहरु राखी चिकित्सा शिक्षा आयोगलाई स्नातक तहको प्रवेश परीक्षा साउन ९ गतेदेखि उपत्यका बाहिर र भित्रका केन्द्रमा गर्ने गरी राय दिएको बताए।

आयोगले सोही अनुसार मंगलबार सूचना प्रकाशित गर्ने तयारी गरेको छ। कोरोना संक्रमणका कारण  चिकित्सा शिक्षा तर्फको स्नातक तहको प्रवेश परीक्षा सञ्चालन हुन सकेको छैन। प्रवेश परीक्षाका लागि २५ हजार भन्दा बढी विद्यार्थीले आवेदन दिइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here