काठमाडौं । इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालीले तीन पटककाे युराेकप च्याम्पियन स्पेनलाई पेनाल्टी सुट आउटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । स्पेनले सन १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि उचालेको थियो ।
आज भएकाे पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई ४–२ गोल अन्तरले हराएको हो । इङ्ल्यान्डको वेम्बली स्टेडियममा अतिरिक्त समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।
यता इटालीका लागि आन्द्रे बेलोटी, लेनोद्रो बुन्की, फेडेरिको बोनान्देस्की र जर्जिन्होले गोल गर्न सफल भए भने मानुयल लकोकाटेली पेनाल्टीमा चुके ।
यसअघि खेलमा इटालीले सुरुवाती अग्रता बनाएको थियो । इटालीका लागि फेडेरिको चेसाले खेलको ६० औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
यता स्पेनले खेलको ८० औँ मिनेटमा बराबरी गोल फर्कायो । स्पेनका लागि आल्भारो मोराटाले बराबरी गोल फर्काए । अतिरिक्त खेल १–१ गोलको बराबरी सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अब इङ्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । दुई टोलीबीचको खेल बुधबार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।


















