रुपाको “सुनार”, सरस्वतीको “प्रधान” र खसको “क्षत्री” मोह उस्तै हो

17

–चन्द्रप्रकाश बानियाँ

लेखोटको प्रारम्भमै रुपा सुनारजीलाई एकथान जब्बर “स्यालुट”गर्नु उपयुक्त होला । काठमाडौंको नेवार समाजमा हिन्दू र बौद्ध धर्मको संयोजन रहेको छ । दुर्भाग्यको कुरा के हो भने बुद्ध धर्मको राम्रै प्रभावमा रहेको भएपनि काठमाडौंको नेवा समाजमा जातीय कट्टरता ब्राह्मण समाजकोभन्दा कम छैन । अरिङ्गालजस्तो उग्र नभए पनि माहुरीको जस्तो कामकाजी एकता र एकोहोरोपना नेवा समाजको विशिष्टता हो । यद्यपि नेवा समाज अपेक्षाकृत सहनशील छ, शान्तीप्रिय छ तर कहिलेकही उसलाई मौरीको जस्तै लाटो रिस उठ्छ । ढिलो तात्छ र ढिलै सेलाउँछ । उठ्दै उठ्दैन, उठ्यो भने यताउता आँखा लगाउँदैन अनि सामुन्ने जो पर्छ त्यसको सर्वनाश बनाएरै छोड्छ । वैरीलाई थचारेरै छोड्छ । नेवा समाजको त्यही प्रवृत्तिको परिणामस्वरुप सरकारलाई पटक पटक लोप्रेकान लगाएर पछि फर्कनुपर्ने बनाउँछ । नेवाको त्यही माहुरीएकताकै बलमा नेपालमा पटक पटक व्यवस्था परिवर्तन  सम्भव भएको छ । तर कहिलेकहिँ वैरी ठम्याउने कुरामा भने गल्ती गर्छ ।

नेवा समाजलाई चलाउनु मौरीको घारमा हात छिराउनुजस्तै हो । त्यसैले जातिभेद र छुवाछुत विरुद्ध उभिने रुपा सुनारको चेष्टाविरुद्ध नेवा समाजको उल्लेख्य हिस्सा आँखामा पट्टी बाँधेर मैदानमा नउत्रला भन्न सकिन्न । मौरीको त के अरिङ्गालकै गोलामा हात हाल्नुजस्तो ज्यानमारा खतरा उपस्थित भए पनि छुवाछुतजस्तो सामाजिक विकृति, अन्याय र घृणास्पद परम्पराको विरुद्ध उभिनै पर्छ । त्यसलाई समाजबाट सिनित्त बढार्ने उद्योगमा लाग्नै पर्छ । त्यो सर्वथा त्याज्य र घोर अमानवीय परम्परा उखेलेर फ्याक्नै पर्छ । समयक्रममा विस्तारै सुधार हुँदै जान्छ भन्नु मानवताविरोधी अपराध हो । समाज यथावत रहोस भन्ने कुत्सित मान्यता हो । त्यसलाई बलैसित उखेल्नु जरुरी छ र त्यसको पहल दलित समाजले नै गर्नुपर्छ । अभियानको नेतृत्व पीडित वर्गले गर्नुपर्छ । त्यस अर्थमा रुपा सुनारको चेष्टा प्रशंसनीय छ । प्रेरक पनि छ । जुनसुकै नाम र निहुँमा किन नहोस्, सरस्वती प्रधानको पक्षधरता निन्दनीय छ । सामाजिक पारिवारिक कारणले उत्पन्न हुने प्रधानको विवशता र कानूनको अनविज्ञताप्रति सहानुभूति राख्न सकिन्छ तर कानूनको आँखा हुदैन । रुप रङ्ग पनि हुँदैन । तैपनि त्यसलाई देखिन, जानिन, बुझिन भन्न पाइन्न । दण्डित हुने मानिस होइन, उसको गल्ती हो, अपराध हो । कानूनको उल्लङ्घन गल्ती होइन, अपराध मानिन्छ ।

हाम्रो समाजमा छुवाछुत र जातिभेद छ । त्यो मानव र मानवीयता विरोधी परम्परा अमान्य र त्याज्य छ । कुनै समय सन्दर्भमा समाजमा त्यो  परम्परा जन्म्यो, हुक्र्यो, फल्योफुल्यो, जम्यो । त्यसको कारण खोतलेर समाजको घाउ निको हुदैन । मान्छे मान्छेबीच विभेद गर्ने त्यो निकृष्ट पम्परामा कुनै वैज्ञानिक आधार छैन । नृतत्व शास्त्रीय अध्ययनबाट यो भूतलका सबै मानिसहरुको मूल एउटै हो भन्ने कुरा पुष्टि भैसकेको छ । त्यसैले सामाजिक परम्परा देखाएर होस, वा व्यक्तिगत स्वतन्त्रताको कुरा  देखाएर होस, घरमा रहेको बुढाबुढी आमा बाबुलाई देखाएर होस जातिभेद र छुवाछुतको जीर्ण अभ्यासलाई निरन्तरता दिनु सबभन्दा ठूलो मानवताविरुद्धको अपराध हो । त्यसवापत कसैले माफी मिनाहा पाउनु हुदैन ।

सरल कुरा के हो भने जातिवाद हिन्दू समाजको परम्परा हो । मानव समाज विकासको एउटा चरणमा समाज र राज्य दुबै धर्मको आधारमा चल्दथे । त्यस अर्थमा जातिवाद हिन्दू धर्मको उपज हो । हिन्दूइतर समाजमा पनि समुदायहरुबिच विभेद थियो र छ । तर त्यो फरक प्रकृतिको छ । हिन्दू समाजको जातिगत अभ्यास जत्तिको अमानवीय चरित्र त्यहाँ देखिदैन । हिन्दू समाजले कमसेकम २५०० वर्षदेखि  छुवाछुत र जातिभेदको अभ्यास गर्दै आएको छ । शताब्दीयौंको अभ्यासको क्रममा खिया बनेर जमेको जातिभेदलाई कोतरेर मिल्काउनु उति सजिलो छैन । यो सजिलै निको भैहाल्ने रोग होइन । मेजर अपरेसनको जरुरत छ । परम्परा यति जब्बर भएर जमेको छ कि हिन्दू धर्म समाप्त भएछ भने पनि त्यसले स्थापित गरेको जातिमा आधारित सामाजिक हैसियत र विभेद मेटिने छैन । त्यसको मतलब त्यसलाई यसै रहन दिनुपर्छ भन्ने होइन । निर्मूल पार्नै पर्छ र त्यसका लागि सरकार, दलित र गैरदलित सबै लाग्नुपर्छ । कडा कानूनी उपचारको प्रबन्ध गर्नुपर्छ । कानून बनाएर मात्र पुग्दैन, कानूनका दफा दफामा किन्तु, परन्तु, स्वविवेक, वा, अथवा जस्ता प्रावधान राख्नै हुदैन । कानून कार्यान्वयन गर्ने गराउने संस्था वा अधिकारीले स्वविवेक प्रयोग गर्ने नाउँमा सजायँ कम वा खुकुलो बनाउने प्रावधान रहनु हुदैन ।

खुसी मान्नुपर्ने विषय के हो भने हाम्रो समाज जातिभेदरुपी रोगबाट मुक्त हुन छटपटाइरहेको छ । पीडित समुदाय मात्र होइन, पीडक समुदाय पनि सहानुभूतिशील बन्दै गएको छ । जातिभेदले शीर्ष स्थान दिएको ब्राह्मण समुदायका पण्डित पुरेतहरु पनि खुलेरै जातिभेद विरुद्ध बोल्न थालेका छन् । वाध्यतावश नै भए पनि मानिसहरुको त्यस्तो चेष्टालाई प्रोत्साहन गर्नै पर्छ ।  त्यो सकारात्मक पक्ष हो । तर आत्तिनु हुदैन, समयक्रममा सुधार हुँदै जान्छ, विकृतिहरु हट्दै जान्छन् । यो धर्मले बसालेको रीति होइन, विशुद्ध सामाजिक परम्परा हो । समाजले नै समयक्रममा त्यसलाई मिल्काउँछ भनेर गरिने तर्क पाखण्ड हो । जातिभेद र छुवाछुत हिन्दू धर्म र समाजले उपल्लो वर्गको स्वार्थका निमित्त स्थापित गरेको प्रचलन हो । समाजबाट छुवाछुत एकदिन अवश्य समाप्त होला तर हिन्दू धर्मलाई यो कलङ्गबाट मुक्त गर्न सकिदैन । धर्मलाई चोखाउन खोज्नुको अर्थ छैन  । प्रकृतितः पानी शुद्ध हुन्छ । त्यसमा फोहर प¥यो भने फिल्टर गर्नुपर्छ । छुवाछुत हिन्दूधर्ममा बाहिरबाट आएको फोहर होइन । यो त्यसैभित्रबाट पन्पिएको हो । छुवाछुत हिन्दूरुपी पानीबाट बनेको ठिहीराउने बरफ हो । त्यसलाई तताएर, उमालेर, छानेर शुद्ध पानीमा रुपान्तर गर्नुपर्छ ।

कसरी, कहिलेदेखि, कसले, किन भनेर छुवाछुत र जातिभेदको जरो नउधिनौं । यो सानो लेखोटमा त्यो सम्भव पनि छैन । कुरीति र गलत मान्यता परम्परालाई समाजबाट सिनित्त बढार्नुपर्छ भन्ने कुरामा कसैको विमति नहोला तर कार्यान्व्यनको सम्बन्धमा आउने प्रत्यक्ष अप्रत्यक्ष अप्ठेरो र वाधाको रुपमा उपस्थिति हुने मान्यता र अभ्यासको भने छोटो चर्चा गर्नु उपयुक्त नै हुनेछ ।

जातिभेद त्याज्य छ तर त्यसको उन्मूलनको सम्बन्धमा समाजबाट पाइने सुझाव सल्लाह वा तर्कसँग भने सहमत हुन सकिदैन । यतिखेर समाजमा बहुधा दुई खाले तर्क सुुनिन्छ । समयक्रममा जातिभेद सुस्त सुस्त मेटिदै जान्छ । हिजोजस्तो कट्टरता अब छैन । जोर जबर्जस्ती वा कानूनी दण्ड सजायँले समाज विथोल्छ । समाजमा विभाजन ल्याउँछ । समाजलाई स्वभाविक गतिमा रुपान्तरित हुन दिनुपर्छ भन्ने तर्क एक पक्षको रहने गरेको छ । अर्को पक्षको तर्क झन उदेकलाग्दो छ । समाजलाई शिक्षित र आर्थिक रुपमा सबल बनाउँदै जानुपर्छ । आर्थिक समृद्धि हासिल भएपछि, समाज शिक्षित भएपछि जातपात स्वतः मेटिन्छ भनेर तर्क गरिन्छ । ती दुबै गलत तर्क हुन् । त्यस्तो मान्यताको पछि लागेर समाज कहीँ पुग्दैन । न आर्थिक समृद्धिले वर्ग मेटिन्छ । न यो अमानवीय व्यवहारलाई स्वसुधारको छुट दिुन उपयुक्त हुन्छ । त्यसरी त समाज कहिल्यै परिवर्तन हुँदै हुदैन । त्यस्तो आशा गर्नु जातिवादको धरातल नबुझ्नु हो ।

दलितहरुमध्ये अलि सम्पन्न मानिने विश्वकर्मा समुदायबाट समेत आउने गरेको दोश्रो तर्कलाई सिद्धान्तको कसीमा राखेर हेर्ने कोसिस गरौं । आर्थिक समृद्धिले सबै असमानताहरुलाई समाप्त पार्छ र समाज वर्गविहीन बन्छ भन्ने तर्क माक्र्सवादको हो । जर्मन दार्शनिक माक्र्सले युरोपमा विकास भएको राष्ट्रिय राज्य व्यवस्थाको सन्दर्भमा त्यस्तो सिद्धान्त प्रतिपादन गरेका थिए । युरोपको समाज जातीगत उचनिचमा विभाजित थिएन । समाजको वर्ग धनी र गरीबमा विभक्त थियो । धनीवर्गबाट गरीबवर्ग शोषित र दलित थियो । उत्पीडित थियो । औद्योगिक क्रान्तिले धनी र गरीबलाई मालिक र मजदूरमा विभाजन गरिदिएको थियो । शोषणको आधार नितान्त आर्थिक थियो । आर्थिक हैसियत समान हुनासाथ वा मेटिनासाथ समाजमा रहेको वर्गभेद समाप्त हुन सक्थ्यो । तर दक्षिण एशियाको सामाजिक व्यवस्थामा वर्ग विभाजनको कारण आर्थिक मात्र थिएन । मानिसको हैसियतको निर्धारण आर्थिक अवस्थाले मात्र गर्न सक्तैनथ्यो । अन्य कारणहरु आर्थिकभन्दा जब्बर थिए । जातीय उचनिच सामाजिक हैसियतको मुख्य निर्धारक थियो । आर्थिक आधार त दोश्रो तहको मात्र थियो । पहिलो नम्बरको हैसियत निर्धारक जात व्यवस्था थियो ।

दक्षिण एशियामा खासगरेर भारतीय उपमहाद्विपमा मानिसको वर्ग उचनिच बनाउने मुख्य कारक मानिसको जन्म थियो । जन्मदै जर्नेल हुने व्यवस्था थियो । जन्मदै दास हुने व्यवस्था थियो । युरोपमै पनि माक्र्सको सिद्धान्त व्यवहारमा लागु हुन सकेन । सर्वमान्य भएन । त्यसैले अर्का जर्मन दार्शनिक म्याक्सवेवरले माक्र्सको मान्यतासँग विमति जनाए । उनले मानिसको हैसियत सानू ठूलो बनाउने कार्यमा अर्थका अतिरिक्त समाजिक हैसियत र सत्ता उत्तिकै प्रभावकारी हुन्छ भने । भारतका समाजसुधारक डा. अम्वेडकरको विचार पनि त्यस्तै थियो ।

मानिस धनी होस् कि गरीब, विद्वान होस् कि मुर्ख उसको सामाजिक हैसियत उसको शिक्षा वा धनले मात्र निर्धारण गर्दैन । उसको जातिगत हैसियतले र सत्तामा रहेको पहुँचले उ सानू वा ठूलो मानिन्छ । हिन्दू समाजकोे वर्ण अर्थात जात व्यवस्थाले समाजिक हैसियत प्रदान गर्दछ । त्यस्तो हैसियत जन्मजात भएको हुनाले स्थायी र बलियो हुन्छ । किनकि कसैले धन कमाएर आर्जन गरेको सामिाजक हैसियत धन सकियो भने स्वतः समाप्त हुन्छ । तर जात व्यवस्थाले दिएको समाजिक हैसियत गरीब हुँदा पनि यथावत रहन्छ । धनी वैश्यको गोडा क्षत्रीले छुदैन । गरीब बाहुनले क्षत्रीको चाकरी गर्ला तर गोडा छुदैन । धनी नै भए पनि क्षत्री, वैश्य र शुद्रहरुले गरीब बाहुनको सामाजिक हैसियत समक्ष नतमस्त हुनै पर्छ । सामाजिक रुपमा बाहुनको शिर्ष हैसियत जातिगत र जन्मगत हो ।

रुपालाई मिलेको सुनार, सरस्वतीको प्रधान र खसहरुलाई मिलेको क्षत्री त्यही अक्षय प्रकृतिको समाजिक हैसियत हो । यतिखेर खसहरुले क्षत्री होइनौं भन्न हिच्किचाउनुको कारण त्यही हो । गान्धीजस्ता महान समाज सुधारकले त जात व्यवस्थाको उन्मूलनको आवश्यकता देखेनन् । उन्मूलको आवश्यकता नदेख्नुको अर्थ त्यसको उपस्थितिको महत्व छ भन्नु हो । बाहुनको खुट्टा ढोगेर प्राप्त गरेको दोश्रो दर्जाको सामाजिक हैसियत छोड्न खसहरुलाई गाह्रो पर्नुको कारण त्यही हो । क्षत्री रुपी हिङ बाँधेको टालो त्याग्दा समाजमा रहेका अनकौं थर, जात, वर्णका वैश्य र शुद्रहरुभन्दा आफू ठूलो भन्न पाउने हक गुम्ने डर खसहरुलाई छ । सरस्वतीजी पनि प्रधान नभएर महर्जन भैदिएका भए सायद, रुपा सुनारकाण्ड जन्मदैनथ्यो कि ? सरस्वतीजीमा रहेको प्रधानको अहमले रुपा सुनारलाई डेरा दिन हिच्किचाउनु अस्वभाविक होइन । समाजले केही भनिहाल्ने पो हो कि, उपल्लो जात हुनुको महत्तामा धक्का पु¥याउँछ कि भन्ने मनोविज्ञानले तर्सायो । सामाजिक हैसियत र सत्ताबाट हात धुनुपर्ने डरको खसहरुकै जस्तो मनोविज्ञानले सरस्वती प्रधानलाई गैरकानूनी कार्य गर्न उद्यत गराएको हो ।

निर्धक्कसंग भन्ने सकिने कुरा के हो भने रुपा सुनारमा पनि “सुनार” हुनुको गर्वानुभूति अवस्य हुनुपर्छ । उनलाई पनि आफू सुनार होइन भन्न गाहै्र हुन्छ होला । किनकि बाहुनले जस्तो आफूभन्दा पछि समाजका धेरै तह र तपका छन् भनेर गौरव गर्न नसके पनि च्यामे, पोडे, दमाई, गाइने आदि त कमसेकम मेरो “सुनार” भन्दा तल्लो श्रेणीकै हुन भनेर सन्तोष मान्ने साधन बनेको होला । विना परिश्रम, विना उद्यम, विना लगानी प्राप्त भएको समाजिक हैसियत सजिलै त्याग्न हिन्दू समाज तयार हुने छैन । समाज सुधारका निमित्त ठूलो र निर्मम अपरेसनको जरुरी छ । हाम्रो समाज, हाम्रो चिन्तन, हाम्रो सरकार, हाम्रो कानून, हाम्रो परम्परा, हाम्रो मान्यता, हाम्रो न्याय पद्धतिको भरपर्ने हो र समयक्रममा सुधार हुदैजाँदा समाजबाट जातिभेद र छुवाछुत मेटिदै जानेछ भन्नु र यज्ञको धुवाँले बादल उत्पन्न गर्छ र बादलले पानी पार्छ भन्ने हिन्दू मान्यता उस्तै उस्तै हो । आकाशको फल आँखा तरी मर ! -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here