काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकले जारी निषेधाज्ञाको बारेमा निर्णय लिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले जानकारी दिनुभयो । अहिलेकै अवस्थामा निषेधाज्ञा जारी राख्ने वा थप क्षेत्र पनि खुकुलो बनाउनेमा बैठकले निर्णय गर्ने उहाँले जनाउनुभयाे।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको जनाउनुभयाे।
दिउँसो बस्ने बैठकले यस विषयमा आवश्यक निर्णय लिने उहाँले बताउनुभयो । साथै बैठकमा कोरोनाको पछिल्लो अवस्थाबारे पनि समीक्षा हुनेछ । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिइएको छ ।
पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि आज राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।


















