आज ओलम्पिकमा गौरिकाले प्रतिस्पर्धा गर्दै

79

काठमाडाैं ।  टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले बुधबार आज १ सय मिटर फ्रिस्टाइलकाे पहिलो हिटमा प्रतिस्पर्धा गर्दैछिन्। उनको स्पर्धा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ

उनी रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी चार खेलाडी छन्। खेल आज दिउँसो ३:४५ बजे हुनेछ।

यो स्पर्धामा सात वटा हिट हुनेछन्। समग्रमा ५२ खेलाडी रहेको यस स्पर्धाबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता गौरिकाले ओलम्पिकमा राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य राखेकी छिन्। यसअघि उनले सागमा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै कीर्तिमान राखेकी थिइन्।

टोकियो ओलम्पिकमा उनले यो टाइमिङ सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कामय गर्ने लक्ष्य लिएकी छिन्।

जारी ओलम्पिकको शीर्ष १६ भित्र पर्न गौरिकाले कम्तिमा ५४ सेकेन्डको टाइमिङ निकाल्नु पर्ने हुन्छ।

बेलायतमा प्रशिक्षण गरिरहेकी उनले युनिभार्सालिटी प्लेसेसको आधारमा लगातार दोस्रोपटक ओलम्पिकमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन्।

उनले यसअगाडि रियाे ओलम्पिकमा सहभागिता जनाएकी थिइन्। १३ वर्ष २ सय ५५ दिनमा ओलम्पिक खेलेकी गौरिकाले १०० मिटर ब्याकस्ट्रोकतर्फ प्रतिस्पर्धा गरेकी थिइन्।

टोकियो ओलम्पिकमा यसअघि अर्का नेपाली पौडी खेलाडी अलेक्जेन्डर गाडेगार्ड शाहले पुरुष १ सय मिटर फ्रिस्टाइल ५३.४१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका थिए।

पहिलाे हिटमा पहिलो भएका हुने क्रममा सुरुका ५० मिटर २५.८१ सेकेन्डमै पार गरेका थिए। उनले दक्षिण कोरियाको ग्वाङ्जुमा भएको १८औं फिना वर्ल्ड च्याम्पियनसिप २०१९ मा बनाएको ५६.२८ सेकेन्डको कीर्तिमानलाई सुधार गरेका हुन्।

पहिलाे हिटमा उनीसँगै भुटान, माल्दिभ्स, कोसोभो, गुयना, प्यालेस्टाइन र सोलोमन आइल्यान्डका गरी सात खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यो स्पर्धामा सहभागी ७१ खेलाडीमध्ये उनी ५९औं स्थानमा रहे।

यसअघि जुडोकी सानिया भट्ट (महिला ४८ केजीमुनि) र सुटिङकी कल्पना परियार (महिला १० मिटर एयर राइफल) मा प्रतिस्पर्धा गरेका थिए। कल्पनाले राष्ट्रिय कीर्तिमान बनाए पनि यी दुवै खेलाडीको चुनौती पहिलो चरणमै समाप्त भएकाे थियाे । अब एथलेटिक्सकी सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here