काठमाडौं। शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको दुई साता भयो। तर अझै पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। गठबन्धनका दलभित्रको आन्तरिक समस्यालाई ध्यान दिँदै मन्त्री थप्न ढिलाइ गरेका देउवाले छिटै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन्।
देउवाले बुधबार गठबन्धनका शीर्ष नेताको बैठकमा मन्त्रिपरिषद् विस्तार नगर्दा आलोचना सुरु भएको बताए। उनले भने, ‘सरकारलाई पूर्णता नदिँदा बाहिर समेत राम्रो सन्देश गएन, आलोचना हुन थालिसक्यो। मलाई धेरै समस्या हुन लागिसक्यो।
जतिसक्दो चाँडो नाम दिनुस्।’ जवाफमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छिटै नाम दिने बताए। उनीहरूले देउवालाई अप्ठेरो नपार्ने बताए पनि अहिलेसम्म गठबन्धनका कुनकुन दल सरकारमा सहभागी हुने र कतिकति मन्त्रालय पाउने भन्ने टुंगो लाग्न सकेको छैन।


















