विश्वमै पहिलो पटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन गराउने

226

काठमाडाैं । विश्वमै अत्यधिक भ्रष्टाचार हुने देशकाे सूचीमा परेकाे देशमध्ये नेपाल पनि एक हाे । यसै सन्दर्भमा नेपालको जेठो विश्वविद्यालयले विश्वमै पहिलो पटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन गराउने भएको छ ।

त्रिविले यसै शैक्षिक वर्षदेखि स्नातकोत्तर तहमा दुई वर्षीय कार्यक्रम अन्तर्गत यो विषय अध्यापन गर्न लागेको हो ।

त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत सुरु गर्न लागिएको कार्यक्रमले देशमा सुशासन कायम गर्न र भ्रष्टाचार कम गर्न मद्दत पुग्ने आशा राखिएको डिन प्रा. डा. कुसुम शाक्यले बताउनुभयो ।

बुधवार त्रिवि प्राङ्गणमा आयोजित विषयगत परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगमले आफूले यस विषय त्रिविमा प्रवेश गराउन विगत २५ वर्षदेखि प्रयत्नरत रहेको भन्दै अहिले प्रवेश पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रमका लागि संयोजक डा. योगेश रञ्जितले कार्यक्रम र पाठ्यक्रमबारे जानकारी गराउँदै दुई वर्षीय कार्यक्रममा जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीले पनि सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनमा सहभागी हुन सक्ने, फर्म अनलाइन माध्यमबाट पनि भर्न सकिने र शुल्क पनि पूरा कार्यक्रमको न्यूनतम एक लाख ७३ हजार रुपैयाँ मात्रै राखिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रा. डा. शिवराज अधिकारी, प्रा. डा. रविनकुमार आचार्य, ट्रान्सपेरेन्सी इन्टरनेशनलकी अध्यक्ष पद्मिनी प्रधानांग, राजनीति शास्त्रका प्राध्यापक गेहेन्द्र लाल मल्ल लगायतले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here