बर्दिया । भारतको राइपुरस्थित सेइबजारमा एउटा कलेज सञ्चालकको घरबाट धनमाल चोरी गरेको आरोपमा बर्दियाबाट ३ जना नेपाली नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका-४ बाउनपुर गाउँ बस्ने २२ वर्षीय जनक थापा, सोही ठाउँ बस्ने ४६ वर्षीय नर बहादुर थापा र उनकै दाइ ४८ वर्षीय छत्र बहादुर थापा रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका २२ वर्षीय जनक थापा भारतीय नागरिक निशानकै घरमा काम गर्ने गर्दथे।
उनीहरुले शुक्रबार निशानको घरमा कोही नभएको अवस्थामा नगद १३ लाख भारतीय रुपैयाँ र करिब १५ तोला बराबरको हिरा जडित विभिन्न सुनका गहना चोरी ल्याएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १७ लाख ५० हजार नेपाली रुपैयाँ र गहना सहित बर्दियास्थित उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको हो।
उनीहरुबाट बरामद गरेको नगद तथा गहना प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ।


















