टोकियो ओलम्पिकका पदक पुराना स्मार्टफोन र ल्यापटपबाट बनाइएका

97

एजेन्सी ।  अहिले जापानको टोकियोमा ग्रिष्मकालीन ओलम्पिक चलिरहेको छ। सन् २०२० मा हुनु पर्ने ओलम्पिक कोभिड-१९ महामारीका कारण एक वर्षपछि धकेलिएको हो।

जारी ओलम्पिकमा यो समाचार तयार पार्दासम्म पदक तालिकामा चीन २२ स्वर्णसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको अमेरिकाले १९ स्वर्ण जितेको छ। आयोजक जापान १७ स्वर्णसहित तेस्रो स्थानमा छ।  ओलम्पिक विश्व खेलकुदको कुम्भमेला हो। विभिन्न खेलमा संसारका विभिन्न मुलुकका देशले पदकलाई प्रतिष्पर्धा गर्छन्। ओलम्पिक जितेका पदक खेलाडीसँगै उनीहरूको देशको प्रतिष्ठासँग पनि जोडिन्छन्।

आयोजक जापानले यसपालि पदकलाई खेलाडी र देशको प्रतिष्ठासँगै वातावरणसँग पनि जोडेको छ। ओलम्पिकमा खेलाडीलाई दिइने सबै पदक उसले पुराना स्मार्टफोन र ल्यापटपबाट बनाएको हो।

जसका लागि जापानले अभियान नै चलाएको थियो। सन् २०१७ मा सुरू भएको अभियानमा जापानीहरूलाई आफूसँग भएका पुराना स्मार्टफोन र ल्यापटप दिएर ओलम्पिकको हिस्सा बन्न अनुरोध गरिएको थियो। त्यसका लागि नगरपालिकालगायत सरकारी निकायसँग समन्वय गरिएको थियो। ठाउँ-ठाउँमा स्मार्टफोन र ल्यापटप संकलन केन्द्र राखिएको थियो।

आफ्नो देशमा आयोजना हुन लागेको ओलम्पिकका लागि जापानीहरूले पनि मन खोलेर सहयोग गरेका थिए। सन् २०१९ को मार्चसम्ममा झन्डै ६२ लाख पुराना स्मार्टफोन संकलन भएका थिए। अधिकारीहरूले ती पुराना विद्युतीय सामग्रीबाट झन्डै ३२ किलोग्राम सुन, ७ हजार सात सय पाउन्ड चाँदी र ४ हजार ८ सय ५० पाउन्ड ब्रोन्ज निकालेका थिए।

त्यही धातुबाट बनेका पदकहरू अहिले ओलम्पिकमा सफलता चुम्ने खेलाडीलाई दिइँदैछ।

जापानले यसपालि ओलम्पिकका सबै पदक ‘रिसाइकलिङ’ गरेर बनाए पनि यो अवधारणा नौलो भने होइन। यसअघि सन् २०१६ को ब्राजिलमा भएको रिओ ओलम्पिकमा  पनि ३० प्रतिशत पदक पुराना कारका पाटपुर्जालगायतबाट रिसाइकलिङ गरी बनाइएको थियो। टोकियो ओलम्पिकमा सबै पदक पुराना स्मार्टफोन र ल्यापटपको प्रशोधनबाट बनाइएपछि सन् २०२४ मा पेरिसमा हुने ओलम्पिकका लागि पनि यो नजिर बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here