काठमाडौं । व्यवसायीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी अटोमोबाइल क्षेत्रलाई राहतको व्यवस्था गर्न माग गरेका छन् । बुधवार नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका प्रतिनिधिहरूले प्रधानमन्त्री देउवालाई भेटी कोभिडका कारण सृजित बन्दाबन्दीले व्यवसाय नै धरापमा परेकाले यसलाई गतिशील बनाउन सरकारबाट विशेष पहल गर्न अनुरोध गरेका हुन् ।
नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि टोलीले बस, मिनीबस र मोइक्रोबस व्यवसायीहरू ठूलो मर्कामा परेकाले आर्थिक राहतको माग गरिएको नाडाका महासचिव सुनील रिजालले बताए ।
गत वैशाख १६ गतेदेखि कोभिडको संक्रमण बढेको भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएपछि २ महीनासम्म यो व्यवसाय ठप्प भयो । गत असार तेस्रो सातादेखि अटोमोबाइल व्यवसाय सञ्चालनमा आएको थियो । अघिल्लो वर्षको बन्दाबन्दीपछि बढेको अटोमोबाइलको माग माघ महीनापछि धान्नै नसक्ने अवस्था आएको थियो । मागअनुसार सवारी आपूर्ति गर्न नसक्दा व्यवसायीहरूले वैशाखसम्म गाडीको अग्रिम बुकिङ गरिरहेका थिए ।
प्रधानमन्त्रीसँगको छलफलमा केन्द्रीय कार्यसमिति सदस्य राजनबाबु श्रेष्ठले लामो बन्दाबन्दीका कारण अटोमोबाइल क्षेत्र धराशयी भएकाले व्यवसायीलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए । आर्थिक अभियान दैनिकबाट

















