काठमाडौं । विद्युतीय भुक्तानी सेवा सम्बन्धमा गेटवे पेमेन्ट नेपाल कम्पनीसँग सम्झौता भएसँगै सुनचाँदी व्यवसायीहरू विदेशमा पनि व्यवसाय विस्तार हुने आशामा देखिएका छन् । कम्पनीसँग भुक्तानी सेवा सम्बन्धमा सम्झौता भएसँगै अब विदेशमा व्यवसाय विस्तार गर्न बाटो खुलेको व्यवसायीहरूले बताएका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेन्ट नेपालबीच गत आइतवार विद्युतीय भुक्तानी सेवा सम्बन्धमा सम्झौता भएको थियो । सम्झौताअनुसार अब उक्त कम्पनीले सुनचाँदीका गरगहनाको कारोबारमा देशभित्र र विदेशमा पनि विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था गर्नेछ ।
महासंघका अध्यक्ष मणिकरत्न शाक्यले अब विदेशी बजारमा पनि व्यवसाय विस्तार गर्न सहज हुने बताए । ‘अन्तरराष्ट्रिय भुक्तानीमा सहज हुने गरी गेटवे पेमेन्ट कम्पनीसँग हालै सम्झौता गरिएको छ,’ उनले भने, ‘अब आवश्यक प्राविधिक प्रक्रिया तथा तयारी पूरा भएपछि अनलाइनमार्फत नै विदेशी बजारमा सुनचाँदीका गरगहना विक्री गर्न सकिनेछ ।’
अब सबै सुनचाँदी व्यवसायीहरू गेटवे पेमेन्ट नेपालमा आबद्ध हुनुपर्नेछ । त्यसपछि भुक्तानी सम्बन्धमा व्यवसायी र कम्पनीको वेबसाइटलगायत विवरण इन्टरलिंक गर्नुपर्ने हुन्छ । आर्थिक अभियान दैनिकबाट


















