काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी मस्यौदा प्रतिवेदन आवश्यक अध्ययनपछि अविलम्ब कार्यान्वयनमा ल्याउने बताएका छन् ।
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको मस्यौदा प्रतिवेदन शुक्रबार बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले भने ‘‘सरकारमा सहभागी पार्टीका शीर्ष नेताहरूले मस्यौदा प्रतिवेदनको अध्ययन गरी आवश्यक सुधार तथा थपघट गर्नुपर्ने भएमा हुन्छ, त्यसपछि यसलाई सार्वजनिक गरी अविलम्ब कार्यान्वयनमा ल्याइने छ ।’’
प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझ्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरू प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपस्थित रहेका थिए ।
संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकताहरू, नीति तथा कार्यक्रमहरू, राष्ट्रिय हितको संवद्र्धन, सङ्घीयता कार्यान्वयन र सङ्घीय लोकतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन, सदाचार शान्ति प्रक्रियालाई पूर्णता र आर्थिक नीति तथा कार्यक्रमहरू समेटिएका छन् । आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले खवर लेखेका छन् ।

















