काठमाडौं । नेपाल टेलिकमको एफटीटीएच (फाइबर टु द होम) सेवा प्रयोग गर्ने ग्रहकको संख्या एक लाख ७२ नाघेको छ। टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच सेवा साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कूल एक लाख ७२ हजारभन्दा बढी ग्राहकलाई वितरण गरिसकेको जानकारी दिएको हो।
टेलिकमले एफटीटीएच सेवाअन्तर्गत मुख्यतः भ्वाइस र डेटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत वर्ष पुस १७ देखि एनटी टीभी ब्रान्डमा आईपी टीभी सेवासमेत उपलब्ध गराइरहेको छ। प्रारम्भमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टीभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।
मूलतः उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गराएको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भएपश्चात् ‘ट्रिपल प्ले’को अवधारणा कार्यान्वयन भएको जनाएको छ। यस आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने कम्पनीको योजना रहेको छ।


















