होम आइसोलेसन बस्ने बालबालिका सुरक्षित

90

काठमाडौं । बालबालिकामा सामान्य लक्षणसहित कोरोना सङ्क्रमण भएको अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने चिकित्सकको सुझाव छ । स्वास्थ्य अवस्था जटिल भए मात्र अस्पताल जानु उचित हुने सुझाव उहाँहरूको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्रा.डा. रवि शाक्य भन्नुहुन्छ,
‘‘बालबालिकालाई होम आइसोलेसन बस्दा नै सुरक्षित अनुभव हुन्छ । सामान्य लक्षण छ भने अभिभावकको रेखदेखजस्तो अरू कसैको हुँदैन तर स्वास्थ्यमा केही समस्या तथा आफूलाई असजिलो महसुस भयो भने तुरुन्त अस्पताल जानुपर्छ । बालबालिकामा कोरोना सङ्क्रमण भएको खण्डमा घाँटी खराब हुने, नाक बग्ने, खोकी लाग्नेलगायतका समस्या देखिन सक्छ ।’’
डा. शाक्यका अनुसार केही बालबालिकाको पेट पनि खराब हुन सक्छ । यस्ता बालबालिकालाई आइसोलेट गरेर लक्षणका आधारमा उपचार गर्न सकिन्छ । अस्पतालमा धेरै बिरामीको अवस्था देखेर मानसिक तनाव हुने उहाँको सुझाव छ ।
बालरोग विशेषज्ञ जुन डङ्गोलले लक्षणविनाका बालबालिकालाई अस्पताल ल्याउनु नपर्ने जानकारी दिँदै घरमा नै एकान्तबास बसे राम्रो हुने बताउनुहुन्छ । कोही बालबालिका जन्मजात नै मुटुरोगी छन्, लामो समयदेखि फोक्सोको रोगबाट ग्रसित छन्, कुनै अङ्गले राम्रोसँग काम गरेको छैन वा मोटोपनाजस्ता रोगबाट ग्रसित छन् भने चिकित्सकको सल्लाहबमोजिम हेरविचार गर्न सकिने उहाँले बताउनुभयो । बच्चामा कोरोना सङ्क्रमण दर बढ्नुका पछाडि भाइरसले रूप परिवर्तन गर्नु नै हो, डा. डङ्गोलले भन्नुभयो, ‘‘सङ्क्रमणको पहिलो लहरमा बालबालिकामा सामान्य फ्लुका रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने लक्षण र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।”
अहिले फ्लु र श्वासप्रश्वाससँगै पाचन प्रणालीमा पनि समस्या देखिएको जानकारी दिँदै उहाँले अरुचि, पेट दुख्ने, पखाला चल्ने, बान्ता आउने, ज्यान दुख्ने, शरीरमा डाबरहरू देखिनेसमेत भएको बताउनुभयो ।
सङ्क्रमित बालबालिकाको अवस्था सामान्य, जटिल वा गम्भीर भनेर छुट्याउनुपर्छ, उहाँले थप्नुभयो, “सामान्य अवस्थामा सङ्क्रमित बालबालिकालाई फ्लु र पाचन प्रणालीको समस्या देखिन सक्छ तर ज्वरो आउँदैमा, रुघाखोकी लाग्दैमा वा पेट दुख्दैमा, पखाला चल्दैमा आत्तिनु पर्दैन । सिटामोल र झोलिलो पदार्थ खुवाएर बच्चालाई घरमै सुरक्षित राख्न सकिन्छ ।”
यसैगरी श्वासप्रश्वासमा समस्या देखिन थाल्ने, अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम हुने वा बच्चा सुस्त बन्दै जाने, आँखा भित्र गड्ने, पानी नपिउने, पिसाब नफेर्नेजस्ता समस्या भएमा अस्पताल लैजानुपर्ने उहाँको सुझाव छ । बालबालिकाको शरीरमा अक्सिजनको मात्रा ९२ प्रतिशतभन्दा कम भएमा पूरा वाक्य बोल्नसमेत नसक्ने जिब्रो, ओठ, कानको लोती, औँलाका टुप्पाहरू नीलो हुने समस्या देखिने पनि उहाँले बताउनुभयो । बालरोग विशेषज्ञ निपुन श्रेष्ठ भन्नुहन्छ, यदि सङ्क्रमण भएको छ भने शारीरिक रूपमा गलेका बालबालिकालाई मानसिक तनाव हुने वातावरण सिर्जना गर्नुहुँदैन भनेर आजको गोरखापत्र यलु जोशीले लेखिएको छ ‌।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here