काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को खोपको प्रमाणीकरणका लागि अनुचित ढङ्गले शुलक लिनेमाथि अनुगमन गरी कारबाही गरिने बताएका छन्।
राज्यमन्त्री श्रेष्ठले ट्वीट गर्दै वैदेशिक रोजगारीमा जानेहरूका लागि कोभिड–१९ पूर्ण खोपको विद्युतीय प्रमाणीकरणका लागि सम्बन्धित म्यानपावरले निःशुल्क आवेदन फारम भरी सहजीकरण गर्न निर्देशन गरिए पनि केही संस्थाले शुल्क उठाएको गुनासो आएपछि अनुगमन गरी कारबाही गरिने बताएका छन्।
ट्वीट गर्दै राज्यमन्त्री श्रेष्ठले भनेका छन्, ‘वैदेशिक रोजगारीमा जानेहरूका लागि कोभिड–१९ पूर्ण खोपको विद्युतीय प्रमाणीकरण प्राप्त गर्न सम्बन्धित म्यानपावरले निःशुल्क आवेदन फारम भरी सेवाग्राहीलाई सहजीकरण गर्न निर्देशन गरिएकोमा केही संस्थाले शुल्क उठाएको गुनासो आएको छ। यसरी अनुचित ढङ्गले शुल्क लिनेमाथि अनुगमन गरी कारबाही गरिने छ।’
स्वास्थ्य मन्त्रालयले यसबारे विज्ञप्ति प्रकाशित गर्दै शुल्क नलिन आग्रह गर्दै लिइएको पाइए कारबाही गर्ने चेतावनी पनि दिएको छ।



















