— राज्यलक्ष्मी शाक्य
सरकारले कोरोनाको खोपभन्दै बाहिरी मुलुकबाट अनुदानमा र मूल्य तिररै पनि जनतालाई खोप लगाउन आर्कषित गरिरहेको छ । जनता खोपका लागि लामबद्ध भइरहेका छन् । संक्रमणबाट बचेकाहरु पनि खोप लगाउन लामबद्ध हुने क्रममा संक्रमित हुने खतरा देखिन्छ । केही दिनअगाडि जापान सरकारले नेपाललाई सहयोगस्वरुप एस्ट्राजेनेकाको खोप उपलब्ध गराएको थियो । यो खोप कोभिशिल्ड लगाएर लामो समयदेखि दोश्रो डोजको पर्खाइमा बसिरहेकाहरुलाई लगाउने नेपाल सरकारले घोषणा गरिसकेको छ । र, गत सोमबारदेखि यो खोप लगाइयो पनि ।
अहिले धेरैले ‘के कोभिशिल्ड र एस्ट्राजेनेकाको खोप एकै हुन् ?’ भन्ने प्रश्न गर्न थालेका छन् । ’कोभिशिल्ड लगाएका व्यक्तिले एस्ट्राजेनेकाको खोप लगाउन मिल्छ÷कि मिल्दैन ?’ यस्ता प्रश्न व्यापक रुपमा सुनिएका छन् ।
कोभिड–१९ विरुद्धको यो खोप एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालय मिलेर विकास गरेका हुन् भनेर प्रचार गरिएको छ । प्रचारमा विश्वास गर्नु बाहेक नेपाली जनताका लागि अर्को विकल्प छैन । देशभित्र खोपको उत्पादन सरकारले गर्ला भनेर आशा गर्ने अवस्था छैन । सरकार केही राम्रो काम गर्नका लागि होइन । देशको ढुकूटी लुटेर विदेशी बैंकमा जम्मा गर्ने कामलाई नै सरकारले आफ्नो महत्वपूर्ण आदर्श ठान्ने गरेको छ । अहिलेको देउवा सरकारले मात्र होइन, केपी ओली नेतृत्वको सरकारले पनि यस्तै चरित्र देखाएको थियो ।
यो खोप भारतको ‘सेरम इन्स्टीच्यूट अफ इन्डिया (एसआईआई) लाई पनि उत्पादन गर्न अनुमति प्रदान गरिएको थियो । एसआईआईले ‘कोभिशिल्ड’ नामबाट यो खोपको उत्पादन गरिरहेको छ । नेपालले आफ्ना नागरिकलाई कोभिड–१९ बाट हुनसक्ने मानवीय क्षति रोक्न सर्वप्रथम कोभिशिल्ड खोप नै लगाउन शुरु गरेको थियो । हाल यो खोप ‘भ्याक्सजेभ्रिया’ र ‘कोभिशिल्ड’ गरि दुई ब्रान्डअन्तर्गत उत्पादन भइरहेको भनिन्छ । यो खोपको विश्वसनीयता कति छ ? यस बारे जिम्मेवारीपूर्ण जवाफ कस्ले दिने ?
नेपालमा कोभिशिल्ड प्रचलित नाम हो । जापान सरकारले दिएको एस्ट्राजेनेकाको खोप कोभिशिल्डको पहिलो डोज लगाएर बसेकाहरुलाई दिने घोषणा गरेसँगै अन्यौल सिर्जना भयो । नेपाल सरकारले यसअघि दुई फरक खोप नलगाउन आग्रह गरिरहेको अवस्थामा अहिले दुई फरक खोप लगाउन मिल्ने कुरा गरियो । यसले पनि खोपप्रतिको विश्वसनीयतामा प्रश्न खडा गरेको छ । धेरै जनाले यो अन्यौल स्पष्ट पारिदिन आग्रह गरिरहेका छन् । सञ्चार माध्यममा यो अन्यौल बारे प्रश्न उठाइएको छ । तर पनि सरकारले कुनै वास्ता गरेको छैन । जनताले खोप लगाउनुलाई मात्र ठूलो उपलब्धी ठानिरहेका छन् । खोपले गर्ने असर बारे जनतालाई चासो छैन । नेपाल सरकारले जनताप्रतिको जिम्मेवारीबोध लिने हो भने यो अन्यौलताको अन्त्य गर्न जरुरी छ । खोपले कोरोना संक्रमणबाट हुनसक्ने जटिल अवस्थालाई रोक्ने हो वा जटिलता पैदा गर्ने हो ?
कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएर दोस्रो डोज नपाएकालाई सोमबारदेखि एस्ट्राजेनेका दिइने भन्ने प्रचार भयो, धेरै मानिसहरु त्यसको खोजिमा लागेको पाइयो । पहिला कोभिशिल्ड लगाएकाले अन्य खोप लगाउन नहुने भनिएपछि जनता कोभिशिल्डकै प्रतिक्षामा रहेका थिए । तर अव वास्तविकता के हो त ? यो अन्यौलता सरकारले अन्त्य नगरे कस्ले गर्ने ? जनताप्रति जिम्मेवारीबोध नहुनु दुखद पक्ष हो । – जनधारणा साप्ताहिकबाट

















