नेपालका ६७ प्रतिशत नागरिकको बैंक खाता

62

नेपाल राष्ट्र बैंकका अनुसार नेपालका ६७ प्रतिशत नागरिकको बैंक खाता छ । यद्यपि, बैंकमा खाता खोल्ने मध्ये ३३.३ प्रतिशत खाता निष्क्रिय रहेको पाइएको छ ।   हालका वर्षहरूमा बैंक तथा वित्तीय संस्थाको बढ्दो प्रतिस्पर्धासँगै वित्तीय पहुँच बढे पनि अझै ३३ प्रतिशत नेपाली बैंकिङ पहुँचबाट बाहिर रहेका छन् ।

बैंकमा खाता खोल्ने मध्ये  करिब ३३ प्रतिशतले नै खाता नचलाई निष्क्रिय रूपमा राखेको पाइएको छ । यसले आधा नेपाली अझै वित्तीय पहुँच भन्दा बाहिर रहेको संकेत गरेको छ ।  राष्ट्र बैंकले तयार पारेको वित्तीय पहुँच सम्बन्धी अध्ययन अनुसार एक वर्षको अवधिमा बैंकमा खाता खोल्ने नेपालीको अनुपात ७ प्रतिशतले बढेको छ । तीन पुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तमा ६७.३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको राष्ट्र बैंकले जनाएको छ । २०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत थियो ।

बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता खुलेका छन्, यस मध्ये नेपाली  नागरिकका निक्षेप खाता दुई करोड ९९ लाख २८ हजार ४३६ छन् ।  अध्ययन अनुसार कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको छ । प्रतिहजार व्यक्ति ९९८ खाता रहेकोमा पुरुषको प्रति हजार व्यक्ति १ हजार ३१४ खाता र महिलाको प्रतिहजार व्यक्तिमा ६८७ खाता छन् ।  प्रदेशगत रूपमा सबैभन्दा बढी बाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति १ हजार ८०२ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ खाता छन् भने महानगरमा प्रतिहजार व्यक्ति ३ हजार २९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २५१ खाता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  राष्ट्र बैंकका अनुसार कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय रहेका छन्, अर्थात् एक तिहाइ नेपालीले बैंकमा खाता खोले पनि नियमित कारोबार भने गर्दैनन् ।  पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय रहेका छन् । ग्रामीण नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको पाइएको छ ।

प्राकृतिक व्यक्तिले खोलेका कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको हिस्सा ९०.६ प्रतिशत र मुद्दती निक्षेप खाताको हिस्सा ३.१ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ ।  प्रतिवेदन अनुसार वित्तीय साक्षरता प्रवर्द्धन, शाखा विस्तार, शाखा रहित बैंकिङ, भुक्तानी प्रणालीको आधुनिकीकरण गर्ने लगायतका नीतिगत व्यवस्थाले बैंक तथा वित्तीय संस्थाका प्रति शाखाले सेवा पु¥याउने नागरिकको संख्या क्रमशः घट्दै गएको देखिएको छ ।  ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाको शाखा संख्या २०७७ चैत मसान्तमा ५ हजार ९७८ पुगेको छ । ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ । निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार ८४५ रहेको छ ।  प्रति एकलाख जनसंख्यालाई सेवा पु¥याउने बैंकको शाखा संख्या औसतमा १८.९८ प्रतिशत छ । सबै भन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ र सबैभन्दा कम प्रदेश नं. २ मा ९.७३ प्रतिशत रहेको छ । ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसंख्यालाई सेवा पु¥याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८.५४ र महानगर पालिकामा ४५.७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।  प्रविधि प्रयोग अन्तर्गत प्रतिखाता एटिएम प्रयोगकर्ता २०.३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् । प्रतिखाता एटिएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता बाग्मती प्रदेशमा सबैभन्दा बढी क्रमशः २६.११, ३३.१२ र ६.४० प्रतिशत रहेको छ ।  प्रतिखाता एटिएम प्रयोगकर्ता गण्डकी प्रदेशमा सबैभन्दा कम १४.५० प्रतिशत, प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं. २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको पाइएको छ ।

महानगरमा प्रतिखाता एटिएम प्रयोगकर्ता २७.२८ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत छन् भने गाउँपालिकामा प्रतिखाता एटिएम प्रयोगकर्ता १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत अध्ययन प्रतिवेदनमा उल्लेख छ ।  प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा सबैभन्दा बढी ३३.३६ प्रतिशत रहेको देखिएको छ । उमेरगत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको देखिएको छ । युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको माग दिनानुदिन बढ्दै जाने देखिएको राष्ट्र राष्ट्र बैंकले विश्वास व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here