७७ वर्ष अगाडि दोस्रो विश्व युद्धमा आफूले झन्डै गोली हानेको परिवारसँग भेट भएपछि

77

सीएनएन । अमेरिकी सेनामा आबद्ध रहेका एक भेटेरानले ७७ वर्ष अगाडि दोस्रो विश्व युद्धको समयमा आफूले झन्डै गोली हानेको एउटा परिवारसँग भेट गरेका छन् । उनीहरुको मिलापलाई रोचक मानिएको छ ।

सोमबार ९७ वर्षीय मार्टिन एड्लरले युरोपको भ्रमण गरि ती तीन दाजुबाहिनीहरुसँग भेटेर अंकमाल गरेका हुन् जसलाई उनले जर्मन सेना लुकाएको भन्ने ठानेर ७७ वर्ष अगाडि बन्दुक ताकेर मार्न खोजेका थिए ।

वास्तवमा एड्लरले सो परिवारलाई फेसबुक मार्फत भेटाएका हुन् । उनकी छोरीले युद्धको समयमा एड्लरका अनुभव सहितको कथा फेसबुक पेजमा पोस्ट गरेकी थिइन् ।

उनले लेखेकी छन्, “इटलीमा लुकिरहेका जर्मनहरुको खोजी गर्दा मेरा बुवा मार्टिन एड्लरले एउटा ठूलो बास्केट फेला पारेका थिए । त्यो बास्केटबाट आवाज आएपछि उनीहरुले धम्की दिँदै बाहिर निस्कन भने । तर कोही बाहिर नआएपछि उनी गोली हान्न तयार भएका थिए । त्यसै समय एक महिला चिच्याउँदै कोठा भित्र आएर ‘यी केबल बच्चाहरु हुन्’ भनेकी थिइन् । ती महिलाले मेरो बुवाको बन्दुक आफ्नो पेटमा राख्दै त्यसो भनिन् । यसपछि ती साना बालबालिकाहरु बस्केटबाट निस्किए । त्यहाँ केही सेकेन्ड मात्र ढिला भएको भए ठूलो दुर्घटना हुने थियो । निर्दोष बच्चाहरुको ज्यान जान्थ्यो । त्यसैले त्यस्तो हुनबाट बचेको खुसीमा मेरो बुवाले ती बच्चाहरुलाई अंकमाल गर्नुभयो र ती महिलासँग उनीहरुको तस्बिर पनि मागेर ल्याउनुभयो ।  पछिल्लो ७७ वर्षसम्म बुवाले त्यो तस्बिरलाई एकदम सम्हालेर मायाले राख्नु भएको छ र सधैँ उनीहरु कहाँ छन् होला भनेर याद गरिरहनुहुन्छ ।”

यसपछि डिसेम्बरमा उनले त्यो फोटो पनि इन्टरनेटमा पोस्ट गरिन् अनि ती बालबालिकाको पहिचान गर्न दोस्रो विश्व युद्धका भेटेरानहरुसँग अनुरोध गरेकी थिइन् । अन्ततः सामाजिक संजालको जादुले काम गर्यो र उनीहरु इटलीको बोलोग्ना शहरमा फेला परे ।

उनीहरु मध्येको जेठो दाइ ब्रुनो अहिले ८३ वर्षका भइसकेछन् भने दुई दिदी बहिनी गिलाना र मफल्दा क्रमशः ८२ र ७९ वर्ष उमेर पुगेका रहेछन् । उनीहरुले पनि एड्लरसँग समय बिताउन भनेर उनलाई आफ्नो ठाउँमा स्वागत गरे ।

एड्लरले सो तस्बिर लिँदा ब्रुनो ७ वर्षका थिए । सीएनएनसँगको फोन अन्र्तवार्तामा उनले एड्लरसँगको भेटघाटलाई अत्यन्तै सुन्दर क्षण भनेर व्याख्या गरे र उनले दोस्रो विश्व युद्धका अमेरिकी सेना जस्तैगरि आफूहरुलाई चकलेट दिँदा भावुक बनेको पनि स्वीकारे । एड्लरले बोलोग्ना सहित इटलीका अन्य शहरहरुमा पनि आगामी दुई हप्ता बिताउने बताएका छन् । मेलमिलापको तस्बिरमा एड्लर अत्यन्तै खुसी देखिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here