काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा उत्रिएको छ।
पार्टी केन्द्रीय कार्यालयको बैठकले एमसीसी संसदबाट पारित गराउन सरकार लागिपरेको भन्दै साताव्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको एक केन्द्रीय सदस्यले जनाए ।
संसद अधिवेशन आह्वान गरेर सरकारले एमसीसी पारित गर्ने चालवाजी गरेको भन्दै विरोधका कार्यक्रम राखिएको ती नेताले जनाए ।
विप्लव नेतृत्वको नेकपाले बुधबारदेखि देशव्यापी कोणसभा गर्ने भएको छ। भदौ २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एमसीसी सम्झौता जलाउने, २७ गते सिठ्ठी जुलुस गर्नुका साथै एमसीसीका विरुद्ध कालो बेलुन उठाउने र भदौ २८ गते विरोध प्रदर्शनसहित काठमाडौंमा जनसभा गर्ने निर्णय गरेको छ।

















