काठमाडौं- फुटबलको सर्वोच्च निकाय फिफाले प्रत्येक दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्नेबारे सम्भाव्यता अध्ययन गर्दैछ ।
फिफाले महिला र पुरुष दुवै टोलीको विश्वकप फुटबल प्रत्येक दुई–दुई वर्षमा आयोजना गर्नेबारे अध्ययन गरिरहेको छ ।साउदी अरेबिया फुटबल महासङ्घले गत मेमा उक्त प्रस्ताव फिफासमक्ष राखेको थियो । त्यसपछि फिफाले आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेङ्गरसँग समन्वय गर्दै अध्ययन र परामर्श प्रक्रियाको काम गरिरहेको छ ।
वेङ्गरले पनि गत मेमा फिफा विश्वकप र युरो कप फुटबल प्रत्येक दुई वर्षमा हुनुपर्ने आशय राखेका थिए । फिफा र वेङ्गरले अध्ययन गरिरहेका बेला युरोपेली फुटबल सङ्घ ९युइएफए०ले भने उक्त प्रस्तावमा असहमति जनाएको छ । युइएफएका अध्यक्ष अलेक्जेन्डर सेफेरिनले प्रत्येक दुई वर्षमा आयोजना गर्दा विश्वकप फुटबल तुहिने प्रतिक्रिया दिए ।
‘विश्वकप फुटबलको गहना र मूल्य भनेकै दुलर्भता हो,’ युरोपेली क्लब एसोसिएसनको जेनेभामा आयोजित साधारणसभालाई सम्बोधन गर्दै सेफरिनले भने-‘प्रत्येक दुई वर्षको आयोजना गर्दा विश्वकप फुटबल तुहिन जान्छ ।’ पुरुष विश्वकप सन् १९३० मा सुरु भएयता प्रत्येक चार वर्षमा हुँदै आएको छ । सन् १९४२ र सन् १९४६ मा दोस्रो विश्वयुद्धको कारण सम्भव भएन ।महिलातर्फको विश्वकप फुटबलसमेत सन् १९९१ मा सुरु भएयता प्रत्येक चार वर्षमा हुँदै आएको छ ।


















