काठमाडौं । बहराइनको प्रमुख तेल–ग्यास प्रशोधन आयोजनामा सयौं नेपालीसहित विदेशी श्रमिक सुरक्षाको उचित प्रबन्धको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
बहराइन पेट्रोलियम कम्पनी (बाप्को) अन्तर्गतको प्रशोधन केन्द्रमा मंगलबार एक श्रमिकले समयमा उपचार नपाउँदा ज्यान गुमाएपछि उनीहरूले आन्दोलन थालेका हुन् । उक्त प्रशोधन केन्द्रमा नासिर सिड अल हाजरी कर्पोरेसनअन्तर्गत ७ सय नेपालीसहित झन्डै ६ हजार श्रमिक कार्यरत छन् ।
बहराइनको कानुनअनुसार रोजगारदाता कम्पनीले कामदारलाई तलब/भत्ता दिने भए पनि खाना, आवास र कार्यस्थलको सुरक्षालगायत मापदण्ड पालना भए/नभएको सुनिश्चित गर्ने जिम्मेवारी त्यहाँको सरकारको हो । तर पछिल्लो घटनाले बहराइन सरकारले अलहाजरीजस्ता ठूला कम्पनीहरूको अनुगमनमा लापरबाही गरेको देखाउँछ । कामदारहरूको भनाइमा पछिल्लो एक महिनामा मात्रै कार्यस्थल र क्याम्पमा गरी कम्पनीका १८ जनाको मृत्यु भइसकेको छ । कम्पनीले श्रमिक राख्ने ‘नोडाक्याम्प’ ग्यास र तेल खानी उत्पादन हुने प्लान्टको बीचमा रहेकाले श्रमिकको स्वास्थ्य जोखिममा छ । ‘मान्छे मरेको थाहै नै हुन्न । राति ग्यास र तेलको चर्को गन्ध आउँछ । टाउको त्यत्तिकै दुख्छ । ग्यासको चुहावट भइरहन्छ । धेरै मान्छे बिरामी भइहन्छन्,’ गोरखा घर भएका सञ्जीव बरालले टेलिफोनमा भने, ‘यहाँबाट क्याम्प हटाउन सबैको माग छ ।’
त्यस कम्पनीमा रहेका नेपाली कामदारमध्ये अधिकांश स्काफफोल्डिङ र हेल्परका रूपमा कार्यरत छन् । कम्पनीले स्काफफोल्डिङ काम गर्ने श्रमिकलाई एक सय २० र हेल्परलाई एक सय बहराइनी दिनार दिने भनेर मागपत्र प्रमाणीकरण गरेको थियो । तर, कम्पनीले करारपत्रअनुसार तलब भुक्तानी गरेको छैन । स्काफफोल्डिङमा काम गर्नेले एक सय १० र हेल्परले ७० दिनार मात्रै पाइरहेका छन् । ‘हामीलाई महिनाको ५० हजार रुपैयाँसम्म आउँछ भनिएको थियो । यहाँ २५ हजार रुपैयाँ पनि बचाउन मुस्किल छ,’ थारूले भने, ‘हामीलाई जतिसक्दो छिटो उद्धार गरिदिए हुन्थ्यो ।’ बहराइनस्थित नेपाली दूतावासले भने श्रमिकको हडतालबारे जानकारी नभएको जनाएको छ । ‘हामीलाई यसबारे कसैले सूचना दिएको छैन,’ श्रम सहचारी दामोदर दाहालले भनेकाे कुरा कान्तिपुरमा प्रकाशित भएकाे छ ।


















