काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनाउन थालेको टिप्पणी गरेका छन्। सरकार गठन भएको दुई महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता समेत दिन नसकेका प्रधानमन्त्री देउवाको कार्यशैलीप्रति पार्टीभित्रबाटै असन्तुष्टि व्यक्त हुन थालेको हो।
बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुराकानी गर्दै नेता थापाले कांग्रेसको कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न नसकिने र खुम्चिनुपर्ने अवस्था आइसकेको उल्लेख गरे। ‘म कांग्रेसको कार्यकर्ता, मेरो सरकारले भनेर कामको रक्षा गर्न सक्ने अवस्था छैन। हामी सबै खुम्चिनु परेको छ,’ थापाले अगाडि भने, ‘मन्त्रिमण्डलको पूर्णता किन नगरेको भन्ने कुरालाई किन्तु परन्तु भनेर प्रतिरक्षा गर्नै सक्दिन।
कतिपय नगर्नुपर्ने काम भएका छन्, गर्नुपर्ने काम भएको छैन। समयमा गर्नुपर्ने काम भएको छैन। मसँग उत्तर नै छैन।’ उनले सभापति देउवाले लाखौँ लाख कार्यकर्तालाई जवाफविहीन बनाएको विश्लेषण गरे। ‘हामीलाई उत्तर विहीन नबनाउनुहोस्, भनेर पटक पटक भनेका छौँ,’ उनले भने।
अहिलेको सरकारको सफलता र असफलतासँग कांग्रेस चुनावी भविष्यसमेत जोडिएकाले बेलैमा सोच्नुपर्ने सांसद थापाले सुझाव दिए। ‘यो सरकारको सफलतासँग कांग्रेसको चुनावी सफलता जोडिएको छ। अब ओली सरकारले गरेका काम कारबाही हाम्रा एजेण्डा बन्दैन। त्यसलाई जनताले बिर्सिसके।’ उनले सरकारको कार्यशैली तत्काल सुधार नगर्ने हो भने कार्यकर्तामा थप नैराश्य आउने ठोकुवा गरे। थापाले भने, ‘सरकार चलाउने ढंग पटक्कै पुगेको छैन।
जताततै ठूलो नैराश्यले ढाकेको अवस्था छ। अब तुरुन्तै सच्याउनु भएन भने क्षति व्यहोर्नुपर्ने अवस्था आउँछ।’ सरकार गठन भएको दुई महिनाको अवधिमा मन्त्रिपरिषदले पूर्णता नपाउनुका साथै बजेट पनि पास हुन नसकेको अवस्था छ।


















