राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रमलाई रुलिङ

74

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसदको राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन्।

नेकपा एमालेले संसदको अधिवेशन प्रारम्भ भएदेखि नै प्रतिनिधि सभासँगै राष्ट्रिय सभामा पनि अवरोध गर्दै आएको छ। एमालेले प्रतिनिधि सभाका सभामुखको भेदभावका कारण आफ्नो दल विभाजन भएको र एकीकृत समाजवादीका सांसद राष्ट्रिय सभामा उपस्थित भएकोले बैठक अघि बढ्न नसक्ने तर्क गर्दै आएको छ। एमालेको अवरोधकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बजेट अघि बढाएका थिए। राष्ट्रिय सभाले आजै बजेट पारित गरेको छ।

एमालेले लामो समयदेखि उठाएको विषयमा छलफल गर्न उनले प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन्। ‘म नेपाल सरकार, प्रधानमन्त्रीलाई यो समस्या समाधानका लागि वार्ता र सहमतिबाट अग्रसर हुन आग्रह गर्दछु’, तिमिल्सिनाले बैठकमा रुलिङ गर्दै एमाले सांसदहरूलाई बस्न आग्रह गरे। तर उनीहरू बैठक अवधिभर उभिए। राष्ट्रिय सभामा एमाले सांसदहरूले रोष्टम घेराउ र नाराबाजी गरेनन्। एमाले सांसदहरूले उठाएको विषय राष्ट्रले सुनेको उल्लेख गर्दै तिमिल्सिनाले संवादबाट समाधान निकाल्न एमालेलाई पनि सुझाए। ‘तपाईंहरूले उठाएको कुरा राष्ट्रले सुनेको छ। छलफल र संवादबाट समाधान निस्कने हो। छलफलको माध्यममा जाऔं। हाउस नियमित गर्दा राम्रो हुन्छ’, तिमिल्सिनाले भने।

राष्ट्रिय सभाका अध्यक्षले रुलिङ गरिरहँदा प्रधानमन्त्री देउवा संसद भवनमै भए पनि बैठकमा सहभागी भएनन्। उनी प्रतिनिधि सभाको बैठकमा भने सहभागी थिए। प्रतिनिधिसभा बैठकका सभामुख अग्नी सापकोटाले भने एमाले सांसदहरूलाई अदालतमा विचाराधीन विषय संसदमा नउठाउन ध्यानाकर्षण गराए। तर एमाले सांसदहरूले प्रतिनिधि सभामा रोष्टम घेराउ र नाराबाजी जारी राखे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here