वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेतालाई कालोझन्डा

62

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले डडेल्धुरामा आज वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेतालाई लक्षित गरी कालोझन्डा देखाएका छन्।

क्रियाशील सदस्यता विवादबीच नै गत भदौ २५ मा डडेल्धुरामा सभापति देउवा पक्षले वडा अधिवेशन गरेका थिए। जिल्ला सभापति कर्णबहादुर मल्ल लगायतले क्रियाशील विवादबीच अधिवेशन नगर्न चेतावनी दिँदै बहिष्कार गरेका थिए।

फेरि वडा अधिवेशन गर्न माग गर्दै ११ दिनदेखि डडेल्धुरामा रिले अनसन थियो। आज पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र केन्द्रीय सदस्यहरू शेखर कोइराला र गुरूराज घिमिरेको उपस्थितिमा दसैंसम्मका लागि अनसन स्थगित गरिएको छ।

आइतवार संस्थापनइतर समूहले गरेको सभामा सभापति देउवा पक्षले कालोझन्डा देखाउँदा झडपकै स्थिति बनेको थियो।

सभामा सम्बोधन गर्दै केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेसमा आन्तरिक लोकतन्त्र धरापमा परेको जनाए । ‘कांग्रेसमा आन्तरिक लोकतन्त्र छैनको बराबर छ। आन्तरिक लोकतन्त्रलाई फेरि हामीहरूले सुदृढ गरेर जानुपर्ने आवश्यकता छ,’ उनले भने। उनकाअनुसार केही मानिसले कालो झन्डा देखाए पनि कोही कांग्रेस त्यसबाट डराउँदैनन्।

‘अहिले केही साथीहरूले कालो झन्डा देखाउनुभयो। कालो झन्डासँग कांग्रेसका कोही नेता तथा कार्यकर्ता डराउँदैनन्। मलाई सम्झना छ- डडेल्धुराको टुँडिखेलमा गिरिजाप्रसाद कोइरालालाई पनि कालो झन्डा देखिइएको थियो। उहाँ तर्सनु भएको थिएन। डराउनु भएको थिएन। उहाँ भाग्नुभएको थिएन। कांग्रेस लोकतान्त्रिक पार्टी भएकोलेले कालो झन्डा देखाउनेहरूलाई हामीले स्वागत गर्न सक्नुपर्छ,’ कोइरालाले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here