खसहरु हिन्दू धर्म संस्कृतिको सती जानुको औचित्य के छ ?

88

–चन्द्रप्रकाश बानियाँ

जनगणना–२०७८ सुरु भइसक्यो । खस संगठनहरु कति सक्रिय छन् कुन्नी ? सबै खसहरुमा जाति र धर्मको बारेमा उन्नत सचेतना छ भन्न सकिन्न । अझै पनि खस भनेको बाहुनबाट झरेको जात भन्ने बुझाई स्वयम खसहरुमा पनि छ । त्यही अर्थ बुझाउने गरी परशुराम र कार्तविर्यअर्जुनका कथाहरु पुराण र महाभारतहरुमा जडिएका छन् । कथा पुराणहरु लेख्ने कलम बाहुनकै थियो । श्राप र वरदानको कथा अविश्वनीय बन्दै गएपछि हतियारमा पनि बाहुनवंश अब्बल थियो भन्ने कथाहरु लेख्न थालिएको हो । अर्थात परशुरामका कथाहरु नक्कली हुन् । काल्पनिक हुन् । त्यही फर्जी कथाको शिरानी हालेर क्षत्रीहरुलाई ब्राह्मणका नाजायज सन्तान बनाउने षडयन्त्र गरिएको हो । पुराण कथाहरु साँचै थिए भने पनि त्यो वैदिक समाजको कथा हो । खसहरुले जनै भिर्न थालेको ४÷५ सय वर्ष मात्र भएको छ । करिब ५०० वर्षदेखि जनै भिर्न थालेका भएपनि खसहरुले क्षत्री भनाउन  थालेको जम्माजम्मी एक सय ६८ वर्ष मात्र भएको छ ।

चानचुन पौनै दुई सय वर्षउता नेपालका खसहरु परशुरामहरुद्वारा उत्पन्न गरिएका क्षत्री थिएनन् । खस जातिको वैदिक क्षत्रीहरुसँग कुनै साइनो सम्बन्ध थिएन । खसहरु न वैदिक ब्राह्मणका सन्तान हुन् न त वैदिक परम्पराका क्षत्रीहरु नै हुन् । सुसंस्कृत धर्मसंस्कृति मानेर खसहरुले हिन्दू धर्म ग्रहण गरेका हुन् । हिन्दू धर्म ग्रहण गरेर पनि क्षत्री बन्न नसकेका खसहरुलाई जङ्गबहादुर कुँवरले एक तह उकालिदिएका हुन् ।

खसहरुका बाबुबाजे हिन्दू भएका हुन् । पुर्खाको धर्म हिन्दू होइन । त्यस अर्थामा खसहरु जन्मले क्षत्री हुन् भन्न मिल्दैन । धर्म वंशानुगत हुदैन । धर्म स्वेच्छिक विषय हो । धर्म लिन छोड्न पाइन्छ । धर्म वंशसँग जोडिएर आउने भैदिएका भए खसहरु हिन्दू हुनै पाउँदैनथे । गोराहरु हिन्दू भजन गाउँदै सडकमा हिँडेको भिडिओ सगौरव सामाजिक सञ्जालहरुमा सार्वजनिक गरेको देखिन्छ । यदि तिनले साँचै हिन्दू धर्म ग्रहण गरेकै हुन् भने कुनै जमानामा खसहरुले पनि त्यसैगरेर धर्म ग्रहण गरेहोलान् । एकपटक लिएको धर्म सधै घाँटीमा झुण्डिने भैदिएका भए न गोराले हिन्दू धर्म लिन पाउँथे न खसहरुले । धर्म लिँदै छोड्दै गर्न मिल्ने विषय हो । धर्म आफ्नो हितमा छैन भन्ने लाग्दा फेर्न मिल्छ । त्याग्न मिल्छ । मनलागे फेरि लिन मिल्छ ।

नेपालमा क्रिष्टियान धर्म निकै बढेको छ भनेर हल्ला गरिन्छ । हरेक गिर्जाघरको पाष्टर बाहुन हुन्छ । धर्म फेर्न नपाइने विषय हो भने बाहुनहरु कसरी किन पाष्टर बन्छन् ? धर्म फेर्न पाउने हक बाहुनको मात्रै त होइन होला ? असल कुरा के हो भने नेपालको सन्दर्भमा बाहुनहरु टाँठाबाठा छन् । उनीहरु व्यक्तिगत फाइदा हेरेर हिँड्छन् । व्यवहार गर्छन् । समुदायको कल्याणको कुरा गर्छन् । धर्मलाई निजी लाभहानिको विषय मान्छन् । त्यसैले फाइदा हुने देखे भने धर्म तिलाञ्जली दिन हिच्किचाउँदैनन् । जीवनमा दशवटा धर्म फेर्न परेपनि तयार हुन्छन् । होइन भने बाहुनहरु किन क्रिष्चियन बन्थे ? किन स्वधर्मविरोधी कित्तामा उभिन्थे र ? धर्म परिवर्तनीय विषय भएकैले बाहुनहरु पाष्टर बनेका हुन् । त्यत्ति कुरा हामी खसलाई बुझ्न अझै कति शताब्दी लाग्ने हो कुन्नी ?

धर्म समाजको हितमा हुनुपर्छ । व्यक्तिको कल्याणका लागि हुुनुपर्छ । पाष्टरी गर्ने बाहुनहरु हिन्दू धर्मभन्दा क्रिस्चियन धर्म राम्रो भनेर इसाई बनेका होइनन् । व्यक्तिगत नाफा नोक्सान हेरेर उतातिर कुदेका हुन् । धर्मका लागि होइन, व्यवशायका लागि धर्म परिवर्तन गरेका हुन् । नाफा घाटाको हिसाब गरेर विधर्मी कित्तामा उभिन गएका हुन् । हिन्दू धर्मका धर्माधिकारी ठान्ने बाहुनहरुले धर्म परिवर्तन गर्न हुन्छ भने आफूलाई हित नगर्ने धर्म त्याग्ने हक खसलाई पनि छ । खस समाजको विडम्बना के हो भने धर्म के का लागि थियो भन्ने कुरातर्फ अलिकता विचार गर्नुपर्ने आवश्यकता ठानिदैन ।

हाम्रा पुर्खाहरुले सुसंस्कृत र सभ्य भनाउने रहरले जनै भिरेका थिए । जात वर्ण माथि उक्लन्छ भनेर हिन्दू भएका थिए । वैदिक समाजले शुद्र भनेर हेप्ने गरेका हुनाले जनै भिरैर हामी पनि तिमीजस्तै हौं भनेका हुन् । त्योभन्दा अरु कुरा गफ मात्रै हो । जात अब अप्रशांगिक भैसक्यो । जनैले दिने जातको अव कुनै मान मर्यादा छैन । औचित्य पनि छैन । उसै पनि जनै भिरेर खसहरु जातको एउटा खुड्किलो उक्लिएका थिए । जङ्गबहादुरले अर्को खुडकिलो चढाएर क्षत्री बनाइदिएका हुन् । खसका पुर्खाले जात उक्लनका लागि जनै लगाएका थिए । जनैले खसलाई कति माथि उकाल्यो ? खसलाई जनैले बाहुनका अवैध सन्तान बराबर बनायो । जङ्गबहादुर बनाएको पनि क्षत्री त हो । क्षत्री भनेको दुई नम्बरको जात हो । जनैले  एक नम्बरको जात बन्न दिएन  । वास्तविकता यही हो ।

पढालेखा, विद्वान, बुद्धिजीवि, मन्त्री, राजा नै भए पनि क्षत्री भनेको बाहुनभन्दा तल्लो श्रेणीमै खुम्चिनु पर्ने जात बनाइयो । विद्वान क्षत्रीले अनपढ बाहुनको गोडा ढोग्नैपर्ने नियतिबाट मुक्ति पाउँदैन । हाम्रा सुशिक्षित र सुसंस्कारित छोरीहरुले बाहुनको भान्सामा प्रवेश पाएका थिएनन् । छैनन । हाम्रा भान्जा भान्जी बाहुनबाजेबाट सदाका लागि जाति नस्किाशनमा पारिँदै आएका छन् । बाहुनहरुले आफ्नै सन्तानलाई तल्लो श्रेणीमा राख्ने परम्परा बसालेर खस जाति को अपमान गरको होइनन् भन्न सकिन्न । खसलाई क्षत्री बनाएर पनि बाहुनभन्दा तलको मान्ने कारण के होे ? हिन्दू धर्म संस्कृति होइन र ? सदियौंदेखि आफ्नो जाति र रगतलाई अपहेलना गर्दै आएको धर्म संस्कृतिप्रति अझै पनि मोह देखाउनु मुर्खता होइन भन्ने के हो त ?

हिन्दू धर्मले खसहरुलाई पुरेतहरुको स्थायी करदाता बनाएको छ । हुने खानेहरुको कुरा अलग होला, हुँदा खाने गरिब खसहरुलाई जन्मदेखि मृत्युसम्म तिर्नुपर्ने धार्मिक दण्डले कति पिरोलको छ भन्ने कुराको हिसाबकिताब खसहरुले गरेका छन् ? एउटा कुँवर परिवारको जन्मदेखि मृत्युसम्मको दण्ड तिर्दा तिर्दा एक सय मुरी धानखेत पुरेतको पञ्जामा परेको कथा मेरो गाउँमा बुढापाकाहरुले सुन्दै सुनाउँदैछन् । बच्चा जन्म्यो, आफ्नो बच्चालाई मन परेको नाम आमाले दिन पाउँदैनन् । गाउँका अधिकांश मानिसहरुका दुई दुईवटा नाम हुन्छन् । त्यसको कारण के हो ? पण्डितलाई दस्तुर बुझाएर पाएको नाम बाबुआमालाई मन नपर्नाले अर्को नाम राख्ने गरेका हुन् ।

दोहोरो नामकरणको परम्पारले के संकेत गर्छ ? कसैले विचार गरेको छ ? खसहरुमा गिदी खियाउने परम्परा नै छैन । नामकरण परम्परा कुलपूजा जस्तै हो । कुलपूजा गर्दा बाहुन चाहिँदैन । हाम्रा देवताले हाम्रो भाषा बुझ्दा रहेछन् । अर्चना प्रार्थना आफ्नै भाषामा गर्दा हुँदो रहेछ । हाम्रो भाषा नबुझ्ने, संस्कृतमा बोलाउनुपर्ने, प्रार्थना गर्नुपर्ने, पुकारा गर्नुपर्ने देवता र धर्म कसरी हाम्रो हुन सक्छ ? कुलपूजामा आफै पुजारी हुने, आफ्नै भाषामा पुकारा प्रार्थना गर्ने खस परम्परा हिन्दू हुनुपूर्वको हो । दुईवटा नाम राख्ने चलन पनि आफ्नो सन्तानको आफै नामकरण गर्ने पुरानो खस परम्पराको अवशेष हो । हिन्दू हुुनुपूर्व आजको कुलपूजाजस्तै नामकरण संस्कार आफै गरिन्थ्यो । बाुहन राख्ने चलन थिएन । त्यसैले बाहुनले जुराएको नाम मन परेन भने बाबाुआमाले अर्को नाम बच्चाबच्चीलाई दिने गरिएको हो ।

हिन्दू धर्मले खस समाजलाई ठगेको छ । धर्मको नाममा सदियौंदेखि ठग्ने गरिएको छ । जजमानको संख्या बढाउननैको लागि खसहरुलाई जनै भिराइएको हो । जनै भिराएर करदाता बनाइएको हो । जनै भनेको पुरेतको ठग्ने लाइसेन्स हो । ४÷५ सय वर्षदेखि ठगिदै आएका छौं । कति ठगिने ? कतिञ्ज्याल ठगिने ? जनजाति, आदिबासी र दलितहरुसमेत सामेल गरेर नेपालमा ८१ प्रतिशत हिन्दूको संख्या पु¥याउने गरिएको छ । तर बाहुनबाट ठगिने त खसहरु मात्रै हो । बाहुनहरुले धार्मिक कर असुल गर्न पाउने समाज खसको मात्रै हो ।

धर्म स्वेच्छिक विषय हो । जुन धर्म लिँदा पनि हुन्छ । धर्म नमान्दा पनि हुन्छ । धर्म परम्परागत नै मान्नुपर्छ भन्ने छैन । वंशानुगत धर्मको प्रकृति नै होइन । धर्म आस्था भएको हुनाले परिवर्तनीय हुन्छ । बाबुबाजेको धर्म सन्ततिहरुले पनि मान्नैपर्छ भन्ने होइन । उसै पनि हिन्दू धर्मले पटक पटक रुप फेर्दै आएको छ । वैदिक कालजस्तो वेदान्तकाल छैन । वेदान्तकालको जस्तो मान्यता परम्परा पुराणकालमा छैन । वेददेखि पुराणसम्म आइपुग्दा धर्मले अनेक चोला फेरिसकेको छ । हिन्दू धर्मभित्र अनेक मतहरु छन् । नयाँ नयाँ सम्प्रदाय जन्मदै छन् । त्यसको अर्थ धर्मले पनि बाँच्नका लागि समयसापेक्ष रुप परिवर्तन गर्दो रहेछ भन्नुपर्छ । त्यसैले धर्म हिजो जस्तो थियो, बाबुबाजेले जसरी मान्थे रिठ्ठो नबिराई त्यसरी नै परम्परा निर्वाह गर्नुपर्छ भन्ने हुदैन । समय सन्दर्भले  हिन्दू धर्मलाई खस समाजका लागि घाटाको सौदा सावित गरिसकेको छ । त्यसैले यदि जातिको हितमा छैन भने त्यस्तो धर्म मानिरहनुको कुनै औचित्य रहदैन ।

खस अभियन्ताहरुले हिन्दू भन्न छोडिदिउँ भनेर आफ्नो समाजसंग अपिल गर्नुको कारण त्यही हो । त्यसलाई अस्वभाविक मान्नुपर्ने कारण छैन । दोश्रो दर्जाको नागरिक बनाउने, पुरेतको स्थायी करदाता बनाउने, आफ्ना देवताको पूजा अर्चना आफै गर्न नदिने, हिन्दू धर्म खसहरुले किन भिरिरहने हो भन्ने प्रश्न उठ्नु कसरी गलत मान्न मिल्छ र ? अलिकता विवेक र हिम्मत हुने खसहरुले जनगणनामा आफ्नो धर्म हिन्दू नलेखाउँ । धर्मको महलमा केही त लेख्नै प¥यो भन्ने हो भने खस अभियन्ताहरुले “मष्ट” अघि सारेका छन् । मष्ट नामको धर्म छैन÷ होइन भन्न मिल्दैन । धर्म भनेको मान्नु हो । आँखा चिम्लेर विश्वास गर्नु हो । के ? किन ? कसरी भन्ने प्रश्न उठाउने अनुमति धर्मले दिदैन । त्यसैले धर्मको महलमा मष्ट लेखाउन नहिच्किचाउँ । होइन मनले मान्दैन भने धर्म जेसुकै लेखौं तर जाति भने खस लेखाउँ ।

खस समाजले छाति ठोकेर आफूलाई खस भनाउने हिम्मत गर्ने हो भने खस अभियानको आधा कार्यभार पूरा हुन्छ । जातिको अस्तित्व कायम गर्न सकियो भने एउटा ठूलो लडाई जितियो भन्दा हुन्छ । एउटा ठूलो षडयन्त्रको जालो तोडियो भन्न सकिन्छ । संविधानमा खससँग आर्यको फुर्को जोड्ने षडयन्त्र बाहुनहरुले गरेका हुन् । किन त्यस्तो जालझेल गरियो ? खस र आर्यलाई एउटै कित्तामा किन राखियो ? जात, भात र विवाह सम्बन्ध हटक गरिएको खसलाई “तिमी हामी एकै” भनेर लोकाचार पार्नुको कारण के छ ? धेरै कुरा व्यवहारबाट स्पष्ट भैसकेको छ । त्यसो किन गरियो भनेर अब पनि खस समाजले बुझेको छैन भन्न सकिन्न । धर्मका नाममा सन्तान दरसन्तानसम्म आफ्नो करदाता बनाएका पुरेतहरुले यसपटक जातिको नाममा रैती बनाउने प्रपञ्च मिलाएका हुन् । खसजातिको नैसर्गिक हक अधिकारमा डाँकामार्नेे जालसाँज रचेका हुन् । त्यस्को अभ्यास हुन थालेको छ भन्ने कुरा खसहरुका नाङ्गा आँखाले अब पनि देख्न सकेका छैनन् भनेर कसरी पत्याउने खोई ? पत्याउँ भने अहिले पनि पुरेतहरुको लहै लहैमा लाग्ने खसहरुको कमि देखिदैन ।  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here