रायमाझीपथले इतिहास दोहो¥याउने संकेत !

9

— निमकान्त पाण्डे
नेपालको राजनीति थप संक्रमणकालीन बन्दै गइरहेको छ । गणतन्त्र स्थापना भएको १५ बर्ष पुग्नै लाग्दा पनि राजा बिनाको राजनीतिले स्पष्ट गन्तव्य लिन सकिरहेको छैन । ०६२÷६३ को जनआन्दोलनले राजाविरुद्ध आक्रामक अभिव्यक्ति दिएको थियो । राजाविरुद्धका अभिव्यक्तिहरु सडकमा उभ्याइएका राष्ट्रिय विभूतिहरुका शालिकहरुमा पनि पोखिएका थिए । शालिकहरु तोडफोड गर्ने सम्मका कामहरु भएका थिए । राजाबाटै नेपालको एकीकरण अभियानको नेतृत्व भएका कारणले एकीकरण अभियानका नायक राजा पृथ्वीनारायण शाहको शालिकसमेत तोडफोड भएको थियो । एकीकरणकर्ता नायकसँगै नेपाली भाषाका आदिकवि भानुभक्त लगायतका राष्ट्रिय विभूतिका शालिक पनि फोडिएका थिए । राजासँगै जोडिएका राष्ट्रियताका प्रतिकहरु आन्दोलनका निशाना भएका थिए । नेपाली टोपी लगाएका व्यक्तिहरुसमेत सडकमा देखिन डराउने अवस्था विकसित भएको थियो । तर १५ वर्षमै स्थितिले कोल्टे फेरेको छ । आज सडकमा ‘राजा आउ देश बचाउ’ नाराबाजी गर्नेहरुको संख्या बढिरहेको छ ।
२०१७ सालमा राजा महेन्द्रले दलहरुमाथि प्रतिबन्ध लगाएर दलबिहीन पञ्चायती व्यवस्थाको प्रारम्भ गरेका थिए । त्यसबेलाको देशको अवस्था र अहिलेको देशको अवस्था धेरै फरक छ । तथापि राजाविनाको व्यवस्थाले पनि जनताको भावना समेट्न सकेको छैन । राजाले देशको विकास हुन दिएनन्, राजनीतिक स्वतन्त्रतामा बन्देज लगाए, राष्ट्रियता कमजोर बनाए, जनजीविका कष्टकर बनाए, देशलाई कंगाल बनाए, विदेशीहरुको स्वार्थमा देशलाई परिचालन गरे, जनतामाथि निरंकूशता लादियो भन्ने लगायतका आरोपहरु लगाइयो । तर राजसंस्था विघटन भएको १५ वर्ष पुग्दा पनि राजनीतिक दलका नेताहरुले देशलाई संकटबाट माथि उठाउन सकेका छैनन् । बरु राजतन्त्रकाल भन्दा सबैक्षेत्रमा भद्रगोलको अवस्था छ । राष्ट्रियता अत्यन्त कमजोर बन्दै गइरहेको छ । विदेशी चलखेल उत्कर्षमा पुगेको छ । कहिले कसैको उपनिवेश नभएको नेपाल साम्राज्यवादीहरुको उपनिवेश बन्ने खतरा देखा परेको छ । ८० लाख भन्दा धेरै संख्यामा युवाहरु रोजगारीका लागि विदेसिएका छन् । भ्रष्टाचार चुलिएको छ । विकासको गति ठप्प छ । सर्वत्र अन्यौलता छ । जनतामा निराशा बढेको छ । यसरी देश विस्फोटक अवस्थाको प्रतिक्षामा रहेको जस्तो देखिन्छ । कुनै पनि बेला भयानक परिणाम दिने गरी घटनाहरु विकसित हुने सम्भावनाहरुलाई नकार्न सकिदैन ।
राजा महेन्द्रको लगभग ६ दशक पुरानो ०१७ सालको कदमको औचित्य आज पनि आवश्यक देखिन थालेको छ । तत्कालिन अवस्थामा राजा महेन्द्रले राजनीतिक स्वतन्त्रतामा लगाइएको प्रतिबन्ध बाहेक अरु कुनै पनि सवालमा राजा महेन्द्रको कदम आजको परिप्रेक्षमा आवश्यक देखिन्छ । ०१७ सालमा राजा महेन्द्रले चालेको कदमलाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका महासचिव डा. केशरजंग रायमाझीले समर्थन गरेका थिए । त्यो कदम सर्वाधिक आलोचनाको विषय बनेको थियो । तर आजको परिवेशलाई विश्लेषण गर्दा रायमाझीले जे गरेका थिए, ठीकै गरेका रहेछन् भन्ने सकिन्छ ।
राजसंस्थाको विघटनपछि पनि नेपालको विकासले गति लिन सकेको छैन । यस अर्थमा विकासको गतिलाई राजसंस्थाले अवरोध गरेको थियो भनेर आरोपित गर्नेहरुको आरोप गलत सावित हुन्छ । निसन्देह राजाहरु सामान्तवादका नाइके हुन् । उनीहरुमा सामान्ति संस्कार, बिलाशी जीवन हुनु स्वाभाविक हो । तर राजामहाराजाहरु भन्दा कुनै कोणबाट पनि फरक नदेखिएका राजानीतिक दलका नेताहरुको जीवनशैलीले जनतालाई दिक्क बनाएको छ । यसैको परिणाम हो सडकमा राजालाई गुहार्दै नाराबाजी गर्नेहरुको संख्या बढिरहेको दृश्य ।
सडकमा सर्वसाधारणले राजा आउ भनेर नाराबाजी गर्नुलाई अज्ञानता भन्न सकिएला ! २ सय ४० वर्षसम्म शासन गरेका राजाले देशको विकास गर्न सकेको भए राजनीति यसरी राजसंस्थाविरुद्ध अवश्य जाने थिएन । जनताका आवश्यकताहरुलाई सम्बोधन गर्दै देशलाई समृद्ध बनाउन राजाहरुले प्रयास गरेका भए कसैले पनि अवरोध गर्ने अवस्था थिएन । राजाहरुकै कमजोरीका कारणबाट जनताका आवश्यकताहरु सम्बोधित भएनन् भन्ने कुरा स्पष्ट हुन्छ । तर पनि राष्ट्रियताको सवालमा राजाहरु अरुको तुलनामा बढि जिम्मेवार बन्छन् भन्ने मान्यताले नेपाली समाजमा जरो गाडेको छ । परन्तु राजाहरुले देश र जनतालाई समृद्ध बनाउने योजनाका साथ विकास गरेका भए देशको राष्ट्रियता र राष्ट्रिय स्वाधिनता बलियो भएर जाने थियो भन्न सकिन्छ । नेपाल एकीकरणकर्ता पृथ्वी नारायण शाहले ‘प्रजा बलिया भया दरबार बलियो हुन्छ’ भनेको कुरा आज यथार्थ बन्न पुगेको छ । जनताको अवस्था बलियो भएन भने देश बलियो हुँदैन भन्ने अर्थमा पृथ्वी नारायण शाहको यो भनाईलाई बुझ्न सकिन्छ ।
यसैबीच देशको राजनीतिक अवस्थाप्रति सचेत बन्दै नेकपा (क्रान्तिकारी—माओवादी) का महासचिव मोहन बैद्य किरण, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा (माले) का महासचिव सीपि मैनालीले समेत राष्ट्रियता संकटमा परेकाले राष्ट्रियता बचाउन राजावादीसँग पनि सहकार्य गर्न सकिने अभिव्यक्ति दिनु भएको छ । देशको हितका लागि राजासँग मिलेर अघि बढ्ने बेला आएको भन्दै कम्युनिष्ट नेताहरुले बोल्न थालेपछि नेपालको राजनीतिमा नयाँ तरंग देखा परेको छ ।
केही दिनअघि एउटा टेलिभिजनमा अन्तर्वार्ता दिँदै महासचिव मोहन वैद्यले देशको बद्लिँदो अवस्थालाई सुधार गर्न राजतन्त्रसँग मिलेर अघि बढ्न सकिने अभिव्यक्ति दिनु भएको थियो । वैद्यको यो अभिव्यक्तिसँगै मिल्ने गरी अध्यक्ष बिजुक्छेले पनि देशको हितका लागि राजासँग मिलेर अघि बढ्ने बेला आएको स्वीकार्दै एउटा टेलिभिजनमा अन्तर्वार्ता दिनु भएको छ । महासचिव सीपि मैनालीले धेरै पहिले देखिनै राष्ट्रियताको सवालमा सबै देशभक्त शक्तिहरु एउटै मोर्चा बनाएर आन्दोलित हुनुपर्नेमा जोडदिदै आउनु भएको छ ।
कम्बोडियामा साम्राज्यवादीहरुसँग मिलेर लड्दा नरोद्दम सिंहानुकलाई पुनः राजामा पुनःस्थापना गरे जस्तै नेपालमा त्यस्तै कोर्षमा जान सकिने बैद्य प्रस्तावले राजनीतिक बृत्तमा बहस सृजना गरेको छ । राजनीतिक दलका नेताहरुले राष्ट्रियताप्रति गम्भिरता नदखाएको साम्राज्यबादी शासकहरुसँग सम्झौता गर्दै देशलाई उपनिवेश बनाउने गतिविधि गरिरहेकाले बैद्यको भनाईमा धेरै नेताहरुको सहमति बढिरहेको छ ।
कम्युनिष्टहरुले परम्परागत धारणा छाड्ने र राजाले पनि पुरानो मान्यतालाई छाड्ने हो भने सँगै अघि बढ्न सकिने प्रस्ताव वैद्यले गर्नु भएको छ । बैद्यले, ‘नयाँ ढंले भन्नाले देशभक्त र कम्युनिष्ट शक्तिहरु मिलेर जाउँ, छलफल गरौँ । तर श्रीपेच फर्काउने भन्ने कुराचाहिँ हुँदैन । इतिहास पुरानोतिर फर्किँदैन’ भनेर आफ्नो भनाईलाई स्पष्ट पार्नु भएको छ । बैद्यको भनाईमा समाज विज्ञानको नियमले समाजलाई अगाडि बढाउँछ भन्ने कुरामा राजावादीहरु पनि सकारात्मक हुनुपर्छ भन्ने स्पष्ट धारणा आएको छ । यो अवस्थाले सबै देशभक्त शक्तिहरुलाई एउटै मञ्चमा उभिएर दलाल संसदीय व्यवस्थाका दलाल नेताहरुका विरुद्ध संगठित विद्रोहको सम्भावनालाई संकेत गरेको छ, आगे सबैलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here