आईसीसी टि–२० विश्वकपमा बिहीबार दुई खेलहरु हुँदै

80

एजेन्सी । युएई र ओमानमा जारी आईसीसी टि–२० विश्वकपमा बिहीबार दुई खेलहरु हुँदैछन् ।

पहिलो चरण अन्तर्गत आज हुने समूह ‘बी’ का दुबै खेल ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा हुनेछ ।
पहिलो खेलमा बंगलादेश र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

पहिलो खेलमा स्कटल्यान्डसँग पराजय भोगेपनि दोस्रो खेलमा ओमानमाथि जित हासिल गरेको बंगलादेश सुपर १२ को यात्रा तय गर्न आजको खेल जित्नै पर्ने दबाबमा छ ।अघिल्ला दुवै खेलमा ओमान र स्कटल्यान्डसँग पराजय भोगेको पपुवा न्युगिनीले सुपर १२ को सम्भावना जीवितै राख्न बंगलादेशमाथि फराकिलो जित हात पारेर मात्र पुग्दैन स्कटल्यान्डले पनि ओमानलाई ठूलो अन्तरले हराउनु पर्नेछ ।

त्यसैले पपुवा न्युगिनीको सुपर १२ सम्भावना निकै कम छ ।  दोस्रो खेलमा ओमान र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति पौने ८ बजे सुरु हुनेछ । अघिल्ला दुई खेलमा बंगलादेश र पपुवा न्युगिनीलाई पराजित गरेको स्कटल्यान्ड आयोजक ओमानलाई उसैको मैदानमा हराउँदै शतप्रतिशत जितका साथ सुपर १२ को यात्रा तय गर्ने सोचमा हुनेछ ।

पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरे पनि दोस्रो खेलमा बंगलादेशसँग पराजय बेहोरेको ओमानका लागि सुपर १२ मा पुग्ने सम्भवना जीवितै राख्न स्कटल्यान्डलाई हराउनै पर्ने दबाब छ । यो समूहमा स्कटल्यान्ड ४ अंक जोडेर शीर्ष स्थानमा रहँदा समान २ अंक भए पनि नेटरनरेटका अधारमा ओमान दोस्रो र बंगलादेश तेस्रो स्थानमा छन् । पुछारको पपुवा न्युगिनी अंकबिहीन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here