काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेका छन्। शर्माले बिहीबार दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीका लागि दाबेदारी प्रस्तुत गर्न प्रदेसभाका सदस्यहरुलाई प्रदेश प्रमुख शर्माले आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ।
प्रदेशसभामा विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीना दिएकी थिइन्। एमाले विभाजन भएपछि प्रदेशसभामा रहेको एकल बहुमत खण्डित हुँदा शाक्य पद छाड्न बाध्य भएकी हुन्। पाँच दलीय गठबन्धनले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अघि सार्ने भएको छ। ११० सदस्यीय प्रदेशसभामा गठबन्धनसँग ५९ जना सांसद छन्।



















