भीम अस्पताल भैरहवामा अक्सिजन प्लान्ट २ करोड ६० लाख लगानीमा स्थापना

111

बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । २ करोड ६० लाख लगानीमा स्थापना भएको प्लान्टको बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले उद्घाटन गरे ।

टर्कीमा बनेको कम्पनीको अक्सिजन प्लान्टले प्रतिदिन २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्छ । प्लान्टको उद्घाटन गर्दै मन्त्री थारुले कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सम्भावना रहेकाले यसको निम्ति हरेक अस्पताल, स्वास्थ्य चौकी, प्रदेश सरकार पूर्व तयारीमा रहनुपर्ने बताए। उनले ५० बेडको भीम अस्पतालका लागि जनशक्तिको अभाव भएकाले प्रदेश लोकसेवा आयोगमार्फत जनशक्ति पूर्ति गर्न लागेको जनाए ।

भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पताललाई जिल्लाको नमूना अस्पतालको रुपमा अघि बढाउने उद्देश्यसहित काम भइरहेको बताए । उनले अस्पतालमा १७ करोडको लगानीमा अत्याधुनिक प्रसूति गृह, विरामी कुरुवाका लागि ५० सिटको प्रतिक्षालयसहित विभिन्न कार्यक्रम सञ्चालन गरी अस्पतालको स्तरोन्नतिमा लागेको जनाए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा. शकुन्तला गुप्ताले अक्सिजन अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएको जनाइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here