जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार पूरा कार्यकालसम्म चल्ने बताउनुभएको छ ।
शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । गठबन्धनभित्र राजनीतिक वा अन्य कुनै विवाद नरहेको उहाँले भन्नुभयो, ‘गठबन्धन निरन्तर चलिरहेको छ ।’ शेरबहादुर देउवाको पूरा कार्यकाल मज्जाले चल्छ’ । आसन्न राष्ट्रियसभा निर्वाचनमा पाँचदलीय गठबन्धन मिलेरै जाने सैद्धान्तिक सहमति भइसकेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले निर्वाचन प्रयोजनका लागि पात्रका विषयमा मात्र सहमति हुन बाँकी रहेको बताउनुभयो ।
सर्लाहीको एउटा कार्यक्रममा सहभागी हुन यहाँ आउनु भएको उहाँले देशमा समयपूर्व आम निर्वाचन नहुने बताउनुभयो । उहाँले अर्ली इलेक्सन नहुने दाबी गर्दै मुलुकको संवैधानिक व्यवस्थाले अर्ली इलेक्सनको परिकल्पना नगरेको र सर्वोच्च अदालतको फैसलाले पनि त्यस्तो सम्भव नहुने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘प्रस्ट हुनुस् र द्विविधामा नरहनुस् अर्ली इलेक्सन हुँदैन ।
गठबन्धनका नेताहरू यताउता भएकाले बैठक बस्न एक दुई दिन ढिलाइ भएको भन्दै उहाँले प्रधानन्यायाधीशसम्बन्धी विवादमा छिट्टै गठबन्धनको धारणा बाहिर आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यस विषयमा गठबन्धनको साझा धारणा बनाउने प्रक्रियामा छौं । समस्या समाधान गर्ने दृष्टिले नै हल गर्नेछौं ।’
अध्यक्ष प्रचण्डले संविधानको मर्म र भावना विपरीत अनावश्यक रूपले अनावश्यक विषयमा प्रतिपक्षले संसद्मा दिनहुँ गतिरोध उत्पन्न गरिरहेकाले वातावरण सहज बनाउन सदन बन्द गरिएको बताउनुभयो । उहाँले अदालत र निर्वाचन आयोगले गैरसांसदलाई संसद्को कार्बाहीमा भाग नलिन फैसला गरिसकेको र अर्को पार्टी दर्ता भएर मान्यता पाइसकेपछि पनि संडसद्मा गतिरोध उत्पन्न गराउनु उचित नरहेको तर्क गर्नुभयो ।


















