काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको बैठक सभापतिको घरमा राखेकोमा असन्तुष्टि जनाएका छन् ।
कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले बूढानीलकण्ठ नदेखे झैं गरेर सभापति शेरबहादुर देउवाको निवासमा बैठक राखिएको टिप्पणी गरे । ‘पार्टी केन्द्रीय कार्यसमितिको बैठक पार्टी सभापतिको घरमा राख्छ । कार्यालयमा राख्नु पर्यो नि’ उनले भने, ‘बूढानीलकण्ठ हामीले नदेखेको हो र । उहाँको त्यहा घर बन्नुभन्दा अघि नै हामी त्यहाँ बुढानीलकण्ठ भगवानको पूजा गर्न जान्थ्यौं नि ।’
पार्टी प्रवेश, समायोजनको नाममा आफू अनुकुल नाम राखेपछि प्रदेश २ मा विवाद भएको उनले जनाए।
पार्टी सभापतिको गृहजिल्ला डडेलधुरामा के भयो भन्ने सबैले देखेको भन्दै उनले भने, ‘सत्तामा छु भन्दैमा पुलिसको घेरामा राखेर विधि र नियम पूरा नगरी अधिवेशन भो भनेर घोषणा गर्दैमा हुन्छ ? यसले पार्टीलाई राम्रो गर्दैन ।’
पूर्वमहामन्त्री सिंहले नियम उल्लंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेको बताए । आफू कांग्रेसमा शुद्धीकरण र सुदृढीकरणको अभियानमा रहेको भन्दै उनले अब आसन्न महाधिवेशनमा राजनीतिक न्याय दिनुपर्ने बताएका छन् ।


















