ललितपुरमा साझा बसमा तोडफोड

83

ललितपुर । ललितपुरमा साझा बसमा तोडफोड भएको छ।

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बस तोडफोड गरेका छन्। ढुंगाने हानेर बस तोडफोड गरेका हुन्।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ललितपुरको ईट्टीचोक (कुमारीपाटी) महायन पेट्रोल पम्प अगाडि आज बिहान ८:३० बजे बस तोडफोड गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताए।  रत्नपार्क-लुभू-लामाटारको रूटमा चल्ने बा ५ ख ८७५५ नम्बरको बसमा क्षति पुगेको हो। बसको अगाडिको सीसामा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

मंगलबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द गरेको हो। बन्द गर्दै हिँडेका २२ जना कार्यकर्ता काठमाडौं उपत्यकाबाट पक्राउ परेका छन्।   उपत्यकामा नाराबाजी गर्दै सडकमा टायर बालेर बन्द गराउन खोज्ने २२ जनालाई प्रहरीले पक्राउ गरेको हो।  काठमाडौंका विभिन्न ठाउँबाट २१ जनालाई नियन्त्रणमा लिएको छ।

यस्तै ललितपुरबाट एक जनालाई मात्रै नियन्त्रणमा लिएको हो।  ललितपुरबाट पार्टीका जिल्ला सचिव रमेश डंगोललाई नियन्त्रणमा लिइएको हो।  तोडफोडमा उनको संलग्नता छ वा छैन भन्नेबारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए।

भक्तपुरबाट भने कोही पक्राउ नपरेको प्रहरीले जनाएको छ।   उपत्यकामा विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको सामान्य असर गरेको छ।  बिहानपख सवारीसाधन फाट्टफुट्ट चलेका थिए। अरू दिनको भन्दा सवारीसाधन कम नै गुडेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here