हुकुमबहादुर सिंह
विश्व सर्वहारावर्गले यो वर्ष १०४ आंै अक्टुबर समाजवादी क्रान्ति वर्षगाँठ मनाइरहेको छ । सर्वहारा वर्गको अधिनायकतन्त्रको सिध्दान्त तथा कार्यनीतिमा आधारित भएर गरिएको विश्वमै पहिलो सर्वहारा वर्गको अधिनायकत्वको सत्ता स्थापित गर्न सफल क्रान्ति, जसलाई अक्टोबर समाजवादी क्रान्ति भनिन्छ, लेनिनको नेतृत्वमा सन १९१७ अक्टोबर २५ ( रुसी नयाँ क्यालेन्डर अनुसार सन १९१७ नोभेम्बर ७ )का दिन सम्पन्न भएको थियो ।
अक्टोबर समाजवादी क्रान्ति माक्र्सवादको सैध्दान्तिक पथप्रदर्शनमा लेनिनको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टी ( बोल्सेविक ) द्वारा सम्पन्न पहिलो सर्वहारा क्रान्ति हो । त्यो क्रान्तिमा माक्र्सवादको पहिलोपटक रुसी भूमिमा सफलतापूर्वक प्रयोग भएको हो ।
रुसी अक्टोबर समाजवादी क्रान्ति पछि विश्वको जनसंख्याको एक तिहाई जनसंख्या कम्युनिस्ट सरकारको छातामुनी गोलबन्द हुन पुगेको सर्वहारावर्गसंग अहिले एउटा पनि देशमा अक्टोबर समाजवादी क्रान्तिको आलोकमा सरकार छैन । संसदवाद र सशेधनवादले विश्व कम्युनिस्ट आन्दोलनलाई पथभ्रष्ट बनाएको छ र कम्युनिस्टको नाममा दलाल संसदवादी व्यवस्था हावी छ । दलाल तथा नोकरशाही पुँजीवाद हावी छ । कम्युनिस्टको नाममा तिनै अहिले सरकारमा र सत्तामा छन् ।
तै पनि मानव जातिको इतिहासमा एक महान् अग्रगामी गुणात्मक छलाङ्ग ल्याउन सफल रुसी अक्टोबर समाजवादी क्रान्ति पुँजीवादी युगको अन्त्य र वैज्ञानिक समाजवादी युगको प्रारम्भको एक ऐतिहासिक उद्घोषण थियो । त्यसले पुरानो बुर्जुवा संसदीय युगको अन्त्य र नयाँ सर्वहारा अधिनायकत्वको युगको थालनी गरेको थियो । त्यसले रुसमा मात्र होइन संसारलाई नै एक नयाँ उत्प्रेरणा र सन्देश दिएको थियोे । परिणाम त्यसपछि रुसी अक्टोबर समाजवादी क्रान्तिको आलोकमा विश्वको जनसंख्यको एक तीहाई भूभागमा क्रान्तिकारी कम्युनिस्ट सरकार स्थापना हुन गयो ।
अक्टोबर समाजवादी क्रान्ति पेरिस कम्युनको निरन्तरता र उत्तराधिकारीणी हो भने त्यसपछिका क्रान्तिहरु पनि पेरिस कम्युन, अक्टोबर समाजवादी क्रान्ति र चीनीयाँ जनवादी क्रान्तिको आलोकमा हुने क्रान्तिहरु भए र हुनेछन् । यी पेरिस कम्युन, अक्टोबर समाजवादी क्रान्ति र चीनीयाँ जनवादी क्रान्तिको आलोकलाई नमान्नेहरु क्रान्तिकारी हुनै सक्दैनन । पेरिस कम्युन, अक्टोबर समाजवादी क्रान्ति र चीनीयाँ जनवादी क्रान्तिका सिध्दान्तहरु शाश्वत र अविनासी छन् , ती श्रमिक वर्गको मुक्ति नहुँदासम्म बारम्बार प्रकट भइ नै रहने छन् ।
अक्टोबर समाजवादी क्रान्तिलाई सफलतामा लैजाने क्रममा लेनिनले क्रान्तिका लागि प्रतिक्रियावादीको मात्र होइन , संशोधनवादको घोर विरोध गर्नु भएको छ र लेनिनवादको विकास यिनै विभिन्न खाले अवसरवादहरुसँगको संघर्षका बीचबाट भएको हो । संशोधनवादले माक्र्सवादको तोडमरोड तथा अपव्याख्या गर्दछ । द्वन्द्वात्मक भौतिकवादको विरोधमा अधिभूतवाद र आदर्शवादलाई पच्छ्याउनु , वर्गसंघर्षको ठाउँमा वर्गसमन्वयको पक्षपोषण गर्नु , बलप्रयोगको सिध्दान्तका विरुद्ध शान्तिपूर्ण संसदीय बाटो पकड्नु र सर्वहारा वर्गको अधिनायकत्वको विरोधमा विशुद्ध जनवादको वकालत गर्नु संशोधनवादका मूल विशेषता हुन् । यीनै विशेषताहरु व्र्तमानका संसदवादी, संशोधनवादी कम्युनिस्टहरुमा प्रष्टै देखिन्छन ।
लेनिन, स्तालिन र माओले क्रान्तिका दौरानमा के स्पष्ट पार्नु भएको छ र भन्नु भएको छ–“संशोधनवाद विभिन्न रुपमा प्रकट हुने गर्दछ । जस्तो दक्षिणपन्थी , उग्रवामपन्थी र मध्यपन्थी ।” दक्षिणपन्थी संशोधनवाद सुधारवादी धारा हो । यसले मिलेराँवाद(जसरी पनि मन्त्रीमण्डलमा बसिरहने) र संसदवादलाई आदर्श मानेर चल्दछ । उग्रवामपन्थीहरु कुनै बेला चर्को क्रान्तिकारी कुरा गरे पनि अन्ततः दक्षिणपन्थी अवसरवादकै बाटो पकड्छन् । मध्यपन्थी संशोधनवाद कुनै खास बेलामा दक्षिणपन्थी र माक्र्सवादी धाराका बीचमा डोलायमान भए पनि अन्ततः दक्षिणपन्थी संशोधनवादलाई नै अंगाल्न पुग्दछ । लेनिनले यिनै तीनै थरी संशोधनवादको विरोध र खण्डन गर्नुभएको छ ।
निष्कर्ष
अक्टोबर समाजवादी क्रान्तिपछि एउटा नयाँ युगको प्रारम्भ भयो–समाजवादी युग, जसले पुँजीपतिवर्गको हातबाट सत्ता खोसेर सर्वहारा वर्गको हातमा पुर्याएको थियो । र सर्वहारा वर्गले पहिलोपटक आफ्नो वर्गीय अधिनायकत्व प्राप्त गरेको दिन थियो । परिणाम रुसी अक्टोबर समाजवादी क्रान्ति अन्तर्राष्ट्रिय सर्वहारा वर्गको एक आदर्श बन्न गएको छ ।
अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादको जवर्जस्त नकारात्मक प्रभाव देखा पर्दै आएको छ । वर्तमानको संशोधनवादले सारमा माक्र्सवादको परित्याग गर्दछ तर रुपमा माक्र्सवादको साइनबोर्ड झुन्ड्याइ रहेको छ । जसको ताजा उदाहरण नेपालका संसदवादी संशोधनवादी कम्युनिस्टहरू हुन जसले माक्र्सवादलाई परित्याग गरि सकेपछि पनि माक्र्सवादको साइनबोर्ड झुन्ड्याई रहेका छन् र जनतालाई झुक्याउने काम गर्दै आएका छन् । यस प्रकारका नक्कली कम्युनिस्टहरूको क्रान्तिकारीहरुले घोर विरोध र भण्डाफोर गर्नु आवश्यक छ ।
रुस, चीनलगायत विभिन्न समाजवादी देशहरुमा वैज्ञानिक समाजवादको ठाउँमा अहिले पुँजीवादको पुनःस्थापना गरिउका छन् । तर अझै पनि अक्टोवर समाजवादी क्रान्ति विश्व सर्वहारा क्रान्तिको केन्द्र भएर रहेको छ र क्रान्तिकारीहरुका लागि सन १८७१को पेरिस कम्युन, र १९४९को चीनीयाँ जनवादी क्रान्तिहरु प्नि विश्वका क्रान्तिकारीहरुका लागि आशा र भरोसका केन्द्र रहेका छन् । र विश्व सर्वहारावर्गले फेरी एक पटक १०४ आंै रुसी अक्टुबर समाजवादी क्रान्ति जिन्दावाद भन्नु आवश्यक र जरुरी दुवै भएको छ ।
जनधारणा साप्ताहिकबाट


















