श्रममन्त्री श्रेष्ठको टोली मलेसिया भ्रमणमा

117

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली मलेसिया जाने भएको छ। मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा जान लागको हुन्।

उनी बुधबार त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ। मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भएको छ। भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

मलेसियाका कार्यवाहक राजदूत फ्याजलले मन्त्री श्रेष्ठको मलेसिया भ्रमण र त्यसका अजेण्डाबारे छलफल गरेका हुन्। मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसाल सहितको टोली बुधवार दिउँसो मलेसिया जाने कार्यक्रम छ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् भने सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल–मलेसिया संयुक्त समितिको बैठकका अजेण्डा तय गरिनेछ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनको विषयमा मन्त्री श्रेष्ठले आफ्ना समकक्षीसँग छलफल गर्नेछन्।

भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यक्रम छ। मलेसिया नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलकका रुपमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here