काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले बिचौलियाका नाइकेको बहिगर्मन नै आन्दोलनको बटमलाइन भएको बताएका छन् ।
आज नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता खड्काले भने, “चोलेन्द्रशमशेर राणाले न्यायालयलाई नेतृत्व दिन सक्नुभएन । मोटरसाइकल केही मान्छे ल्याएर, झगडियालाई बोलाएर अन्तर्वार्ता दिँदैमा बारको आन्दोलन रोकिन्छ ? बारले न्यायालय स्वतन्त्र बनाएर छाड्छ, बिचौलियाका नाइकेलाई बहिगर्मन गराएरै छाड्छ ।”
खड्काले चोलेन्द्रशमशेरलाई हटाएर दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने सेटिङमा बार आन्दोलन भएको आरोप अस्वीकार गरे । उनले भने, “प्रजातन्त्र, मानवअधिकार र कानुनी शासनमा बारले कसैसँग सम्झौता गर्दैन । यो आन्दोलन विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध हो । व्यक्तिगत रुपमा चोलेन्द्रशमशेर मेरा परममित्र हुन् । पञ्चायतकालमा कमल चित्रकारको पोस्टर टाँस्दा सँगै पक्राउ परेका पनि हौं । मलाई चोलेन्द्र भए पनि के, दीपक कार्की भए पनि के ? बारको आन्दोलनमा हामी निष्ठापूर्वक लागेका हौं ।”
६ जना न्यायाधीश इजलासमा फर्केपछि बारको आन्दोलन कमजोर हुँदैन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्नुपर्छ त हामीले पनि भनेकै हौं । डाक्टरहरुले हडताल गर्दा पनि इमर्जेन्सी बन्द गर्दैनन् । हाम्रो सरोकार भनेको फैसला होइन, न्यायमा हो । हामीले आन्दोलन गरेको तीन हप्तामात्र भयो, जनताले न्याय नपाएको तीन वर्ष भैसक्यो । न्याय खरिदबिक्री गर्न पाइन्छ ?”
पाँच दलीय गठबन्धनले बारको आन्दोलनलाई समर्थन गर्ने दिन चाँडै आउने पनि उनले दाबी गरे ।

















