नेपालमा विदेशी चलचित्रकै सहारामा चलाउनु पर्ने बाध्यता : स्वस्तिमा खड्का

131

काठमाडौं ।  अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको फिल्म ‘चपली हाइट ३’लाई लिएर अहिले माहोल तातेको छ। सामाजिक सञ्जालदेखि  चलचित्रक्षेत्रमा यो फिल्मको पोस्टर रिलिजदेखि ट्रेलर रिलिजसम्मका कुराले चर्चा पाएका छन्। प्रदर्शनको मिति घोषणा गरिसकेको फिल्म ‘चपली हाइट ३’को प्रचार प्रसारमा पनि चलचित्रको निर्माण पक्ष राम्रै किसिमले लागेका छन्।

यसबीच अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रकाे ट्रेलर सार्वजनिक गर्न गरिएको कार्यक्रममा विदेशी चलचित्रको सहारामा नेपाली कथानक चलचित्र चलाउनु पर्दा आफूलाई दुःख लाग्ने बताएकी छिन्। उनले विदेशी  चलचित्रको सहारामा नेपाली फिल्म चलाउनु पर्दा र हल खोल्न विदेशी फिल्म नै कुरेर बस्नु पर्दा दुःख लाग्ने जनाएकी छिन्।

काठमाडौंमा आयोजना गरिएको ट्रेलर रिलिज कार्यक्रममा स्वस्तिमाले कलाकार भएको नाताले विदेशी चलचित्रकै पर्खाईंमा बस्नुपरेको देख्दा नराम्रो लाग्ने जनाइन्। उनले भनिन्, ‘जब बलिउड, हलिउड वा अन्तर्राष्ट्रिय फिल्महरुकै सहारा लिएर, त्योसँग जुध्दा पनि खुशी नहुने र हामीलाई चलचित्र रिलिज गर्न पनि हिन्दी र हलिउडकै फिल्म कुनुपर्ने अवस्था हुँदा नराम्रो त अवश्य लाग्छ।’

स्वस्तिमाले कलाकारको पक्षबाट दुःख लाग्ने भएपनि निर्माताको पक्षबाट पन यो बाध्यतालाई हेरिनु पर्ने जनाइन्। उनले ‘चपली हाइट ३’मा तीन जना निर्माता भएको प्रसंग उल्लेख गर्दै उनले भनिन्, ‘कलाकारको पक्षबाट भन्दा पनि निर्माताको पक्षबाट हेर्दा एउटा चलचित्र भनेको ठूलो लगानीमा बनेको हुन्छ। म निर्माता भए पनि मेरो लगानी छ भने म पनि दुई पटक सोच्छु। तर, कलाकारको रुपमा नराम्रो चाहिँ अवश्य लाग्छ।’

थ्रिलर विद्यामा रहेको फिल्म ‘चपली हाइट ३’ यसअघि प्रदर्शनमा आएका फिल्म ‘चपली हाइट’ र ‘चपली हाइट २’कै तेस्रो श्रृङ्खला हो। चलचित्रमा अभिनय गर्दा स्वस्तिमाले आफूलाई फरक अनुभव भएको पनि उक्त कार्यक्रममा बताएकी थिइन्।

उनले भनिन्, ‘चपली हाइटको अभिनय मेरा लागि भिन्न थियो। चलचित्रमा काम गर्दा एकदमै राम्रो अनुभव भयो। मैले अहिलेसम्म गरेको चलचित्रभन्दा थ्रिलरमा काम गर्दाको अनुभव छुट्टै थियो।’

पुस २ गते प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’मा स्वस्तिमासँगै अमिर गौतम, सुपुष्पा भट्ट, महेष त्रिपाठी, प्रतिकमान श्रेष्ठ लगायतको अभिनय छ। निकेश खड्काले निर्देशन गरेको फिल्मलाई आकाश बरालले लेखेका हुन्। साे चलचित्रमा अर्जुन कुमारको लगानी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here