साल्ट ट्रेडिङ्ग कर्पोरेशनले अब तेल पनि उत्पादन गर्ने

266

काठमाडौं । नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले तोरीको तेल उत्पादन गर्ने भएको छ । हेटौँडामा रहेको नेपाल वनस्पति घ्यू उद्योग सञ्चालन गरी चितवनलगायत तराई/मधेशका कृषकबाट तोरी खरीद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको कर्पोरेशनले जनाएको छ ।

निजी क्षेत्रका व्यापारीसँगको सहकार्यमा निकट भविष्यमा नै कर्पोरेशनले एलजिएस प्रविधिबाट ‘प्रि इञ्जिनीयरिङ हाउस’ आम उपभोक्तामाझ ल्याउने तयारी गरिएको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

कर्पोरेशनको ५७ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० उर्मिला श्रेष्ठले सरकारको नीति र नियमभित्र रही दैनिक उपभोग्य वस्तुका अतिरिक्त रासायनिक मलको बिक्री वितरण गर्दै आएको जानकारी दिइन ।

हाल कर्पोरेशनले नुनमा आयोडिन मिसाइ प्रमुखरुपमा बिक्री वितरण गर्दै आएको छ । स्वास्थ्य सर्वेक्षणका अनुसार आयोडिनयुक्त नुनको पहुँच पाँच वर्षमुनिका ९४ प्रतिशत बालबालिकामा पुगेको छ । यो सङ्ख्या विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको लक्ष्यभन्दा माथि रहेको छ ।

यसैगरी आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको सङ्ख्या ९० प्रतिशतभन्दा माथि रहेको छ । कर्पोरेशनले वार्षिक २ लाख मेट्रिक टन नुन देशका ७७ जिल्लामा बिक्री वितरण गर्दै आएको छ । आयोडिनयुक्त नुनले गलगाड रोग नियन्त्रणमा कोशेढुङ्गाको काम गर्दछ ।

कर्पोरेशनका वरिष्ठ व्यापार अधिकृत ब्रजेश झाका अनुसार कर्पोरेशनले आफ्ना नेपालगञ्ज, धनगढी, सिमरा, लालगढ र विराटनगरका पाँचवटा गोदाम घरमा छ महीनालाई पुग्ने रु दुई अर्बभन्दा बढीको नुन भण्डारण गर्दै आएको छ ।

पछिल्लो समय आयोडिन नुनका कारण गलगाड रोगीको सङ्ख्या शून्यमा झरेको उनले जानकारी दिए । सन् १९८५ मा नेपालमा सो रोगीको सङ्ख्या ४४ प्रतिशत रहेको थियो । हाल कर्पोरेशनमा सरकारको शेयर २२ प्रतिशत हिस्सामात्र रहेको छ ।

बजार भाउ वृद्धि गर्न पाइन्न : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चाडपर्वका मौका छोपी काला बजारीयाले दैनिक उपभोग्यका वस्तुमा मूल्यवृद्धि गरेमा कडा कारवाही गर्ने चेतावनी दिए ।

“चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गराउन खोज्नेमाथि सरकार टुलुटुलु हेरेर बस्दैन । अनुगमन गर्छ, दोषी ठहरिए कारवाही गर्छ । चाडबाडको मौका छोपेर बजार भाउ वृद्धि गर्न पाइन्न”, उनले भने।

मन्त्री यादवले सरकारले बजारलाई व्यवस्थित बनाउँदै लैजाने चर्चा गर्दै ठूला व्यापारीले आफ्ना कालोधन सञ्चारक्षेत्रमा लगानी गरेकोमा आपत्ति जनाए । उनले भने, “सञ्चार जगतले भ्रमको खेती गरे, कति दिन भ्रमको खेती फष्टाउँछ ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र सहसचिव नवराज ढकालले नुनको बिक्री वितरण कार्य निजी क्षेत्रलाई दिने मन्त्रालयले नीतिगत निर्णय नगरेको जानकारी दिँदै अगामी दिनमा कर्पोरेशनले नयाँ क्षेत्रमा लगानी गर्न सुझावसमेत दिए।

कर्पोरेशनले दशैं, तिहार तथा छठका अवसरमा देशका सातवटै प्रदेशका ७७ स्थानमा सुपथ मूल्यका पसल तथा घुम्ती पसलसमेत सञ्चालनमा ल्याइसकेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here